अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

बिआरटीनेपाल २०७६ मंसिर २० गते ११:३२ मा प्रकाशित

काठमाडौँ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याए बापत कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सह कुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रवार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो । नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नास्टले आफ्नै ३७ औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो । नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानेको पुरस्कार मुल्याङकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।

कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिहरूको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गर्नुभयो । २०७३को भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नु भएको थियो । आर्थिक वर्ष २०७२/७३मा वार्षिक ८ अर्व ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण वित्तीय र प्रशासनिक सुधार तथा पुनर्सरचनामार्फत त्यसपछिका आवहरू २०७३/७४मा १ अर्व ५० करोड, २०७४/७५मा २ अर्व ९० करोड र २०७५/७६मा ७ अर्व २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । आव २०७२/७३ मा विद्युत् प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई १०.४६ प्रतिशत विन्दुले घटाएर आव २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको हो । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महसुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सब स्टेसनको स्तरोन्नति तथा सुदृढीकरण लगायतका काम अभियानकै रूपमा चलाइरहेको छ । विभिन्न कारणले रुग्ण बनेका विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरू निर्माण सम्पन्न भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू