अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

नेकपा नेता नेपालद्धारा देउवाको प्रशंसा -सीमा विवादमा तपाईंले लिएको अडान सही छ’

बिआरटीनेपाल २०७६ मंसिर २० गते ४:०१ मा प्रकाशित

शुक्रवार बिहान विमानस्थलमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र युवानेता प्रदीप पौडेलबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको विशिष्ठ कक्षमा जम्काभेट भयो ।

पार्टी कामको सिलसिलामा नेता नेपाल सिमरा, सभापति देउवा र केन्द्रीय सदस्य पौडेल नवलपरासी, सिंह विराटनगर जाँदै हुनुहुन्थ्यो । वेटिङमा रहँदा पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच समसामयीक विषयमा छलफल भएको छ ।

स्रोतका अनुसार दुई नेताबीच नेपाल(भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमाविवाद समाधानका विषयमा छलफल भएको थियो । नेता नेपाललाई सरकारले विशेष दूत बनाएर दिल्ली पठाउने तयारी गरेको छ । छलफलमा नेता नेपालले देउवाको प्रशंसा गर्नुभएको थियो । ’सीमा विवाद हल गर्नेसम्बन्धी तपाईंको अडान सह्रानीय छ,’ नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भनेको छ , ’तपाईं प्रधानमन्त्री हुँदा पनि यसविषयमा अडान लिनुभएको थियो, अहिले प्रतिपक्षी दलको नेता हुँदा पनि अडान लिइरहनु भएको छ ।’

जवाफमा देउवाले भन्नुभयो, ’मैले सीमाविवाद हल गर्नका लागि केके काम गरें भन्ने त डकुमेन्ट नै छ नि !’ सभापति देउवाले सरकारको विशेष दूत बनेर नेता नेपाल भारत जाने सन्दर्भमा केही जिज्ञासा समेत राख्नुभएको थियो । नेता नेपालले यो राष्ट्रिय दायित्वको विषय भएकाले यसलाई पूरा गर्न आफू लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू