अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

किम्फ महोत्सव, २९ देश ६६ चलचित्र – तेञ्जिङ हिलारीदेखि हिउँ चितुवासम्मका कथा !

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:५६ मा प्रकाशित

आउँदो साता पोखरामा कला साहित्य तथा चलचित्र पारखीहरुका लागि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । पोखरामा ४ दिने नेपाल साहित्य महोत्सव तथा काठमाण्डौमा ५ दिन काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव(किम्फ) आयोजना गरिएको छ ।

आउँदो मसिंर २५ देखि २९ गतेसम्म काठमाण्डौको राष्ट्रिय सभा गृृह र नेपाल पर्यटन बोर्डमा किम्फ आयोजना हुँदैछ । त्यस्तै मसिंर २७ गतेदेखि मंसिर ३० गतेसम्म पोखरामा नेपाल साहित्य महोत्सव हुँदैछ । किम्फले यस पटकको महोत्सवमा सीमान्त आवाज (भ्वाइसेज फ्रम द मार्जिन)लाई केन्द्रीय विषय बनाएको छ ।

महोत्सवको प्रारम्भमा चलचित्र ‘द एसेन्ट अफ एभरेष्ट’ को प्रदर्शनी गरिनेछ । इटालीका निर्देशक एन्तोनेलो पादोभानोले निर्देशन गरेको यो चलचित्र सगरमाथामा पहिलो पटक सफल आरोहण गर्ने आरोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित रहेको छ । यो वर्ष विश्वभर नै हिलारीको जन्म शताब्दी विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् १९१९ जुलाई २० तारिखमा जन्मेका हिलारीको निधन सन् २००८ जनवरी ११ मा भएको थियो । सन् १९५३ मे २९ मा तेन्जिङ र हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसै विषयलाई एन्तोनेलोले फिल्ममा उतारेका छन् ।

चलचित्रमा अहिलेसम्म थाहा नभएका केही कुरा पनि हिलारीले भनेको बताइएको छ । साथै चलचित्रमा हिलारी र तेन्जिङबीचको सम्बन्ध पनि समेटिएको छ । निर्देशक एन्तोनेलोले ६० भन्दा बढी वृत्तचित्र निर्माण गरिसकेका छन् ।

त्यस्तै सर एडमण्ड हिलारीकै जीवनमा आधारित वृत्तचित्र ‘ओसन टु स्काई’ पनि महोत्सवको विशेष आकर्षण रहेको छ । माइकल डिलियनले निर्देशन गरेको यो वृत्तचित्र सर एडमण्ड हिलारीको गंगामा जेट एक्सिपिडिसमा आधारित छ । सन् १९७७ मा डिलियनले हिलारीलगायतका क्रू मेम्बर(छोरा पिटर हिलारीसमेत) को जेट बोट एक्सपिडिसनका दृश्य खिचेका थिए । तीनै फुटेज र केही क्रू मेम्बरसँगको अन्तर्वार्ता लगायतलाई समेटेर उनले फिचर लेन्थ डक्युमेन्ट्री बनाएका हुन् ।

किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए । तीमध्ये २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् । प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिनेछन् । यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको ’आमा खान्डो’, गणेश पाण्डेयको ’को(हसबेन्ड’, निपिल शर्माको ’अतिसर्ग’, केदार श्रेष्ठको ’जुनुको जुत्ता’ लगायतका चलचित्र रहेका छन् । यसपटक किम्फद्वारा ‘परिवर्तित नेपाल’शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’आयोजना गरेकोमा त्यसबाट छानिएका १० उत्कृष्ट चलचित्रहरु पनि प्रदर्शन गरिनेछन् ।

यस पटक महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन गरिनेछ । स्वीस कथानक चलचित्र ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । यसपटक निर्णायक मण्डल (ज्यूरी) मा फिल कोट्स (बेलायत), जे. क्यूली (कोरिया), ग्याब्रियला कुह्न (पोल्याण्ड) रहेका छन् । किम्फ २०१९ मा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन पनि गरिनेछ ।

यसपटक महोत्सवमा चलचित्र प्रदर्शनी सँगसँगै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)को हिउँचितुवा संरक्षणसम्बन्धी कथावाचन कार्यक्रम आयोजना हुनेछ । जसमा घनश्याम गुरुङ, समन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् । त्यस्तै महोत्सवमा प्लान इन्टरनेशनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुनेछ । यसपटक ब्रिटिश काउन्सिलको तर्फबाट प्यानल डिस्कसन र फिल्म प्रदर्शनी गरिनेछ । त्यस्तै एसियन कला संग्रहालयबारे आङ छिरिङ शेर्पाको मास्टरक्लास र साहसिक फिल्म निर्माणसम्बन्धी मास्टरक्लास माइकल डिलनले सञ्चालन गर्नेछन् ।

किम्फ सन् २००८ देखि इन्टरनेसनल एलायन्स फर माउन्टेन फिल्म नामक अन्तर्रा्ष्ट्रिय संगठनको सक्रिय सदस्य रहँदै आएको छ । यस अन्तर्रा्ष्ट्रिय संगठनमा २० देशका २६ वटा माउन्टेन फिल्म फेस्टिभलहरू सदस्य रहेका छन् र यसको मुख्यालय इटलीको टुरिन शहरमा रहेको छ।

प्रतिक्रिया