अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

हिन्द प्रशान्त रणनीति प्रति सकारात्मक हुन अमेरिकाको नेपाललाई आग्रह

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:३८ मा प्रकाशित

अमेरिकाले नेपाललाई हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक हुन आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एसिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको हो । सहायकमन्त्री र्यान्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन नेपाललाई आग्रह गर्नुभयो ।

जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको बताउनुभयो । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि आग्रह पनि गर्नुभयो ।

सो अवसरमा अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल भएको रक्षा मन्त्रालयका उपसचिव मुक्तिराम अर्यालले जानकारी दिनुभयो । भेटका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरी, रक्षा र परराष्ट्र मन्त्रालयलका अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू