अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

स्वरसम्राट नारायणगोपालको २९ औँ स्मृति दिवस मनाईयो

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:३९ मा प्रकाशित

नेपाली सुगम संगीतका स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २९ औँ स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाईएको छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको छ ।

नारायणगोपालले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका गीत समेत गाउनुभएको छ । उहाँले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्तिकै कर्णप्रिय छन् ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष गायक, संगीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रञ्जीत गजमेरलाई सम्मानित गरिएको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित हुनुभएको थियो ।

नारायणगोपालको सम्झनामा नारायणगोपाल संगीत कोषले उहाँकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गरेको छ भने सांस्कृतिक संस्थानले पनि छुट्टै कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया