अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

कालापानी विवाद कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:२३ मा प्रकाशित

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले नेपाली भुमी अतिक्रमणको विषयलाई कुटनीतिक पहलबाट टुंगो लगाउनुपर्ने बताउनुभएको छ । यो विषयलाई शुरुमै अन्तर्राष्ट्रियकरण गर्दा समस्या झन जटिल हुने उहाँले बताउनुभयो ।

विहिवार धनगढी पुग्नुभएका अध्यक्ष प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको विषयमा विशेषदूतका रुपमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भारत सरकारसँग कुरा गर्न पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै वरिष्ठ नेता नेपाललाई विशेषदूतको रुपमा भारत जान आग्रह गरेको उहाको भनाई थियो । भारत सरकारसंग छलफलका लागि उच्चस्तरीय भेट र बैठकको व्यवस्था गर्ने काम बाँकी रहेको प्रचण्डले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल सरकारको तर्फबाट भारत सरकारसँग कुरा गर्ने विषयमा समेत तयारी भइरहेको उल्लेख गर्नुभयो । नेपाल सरकारले सो विषयमा भारत सरकारलाई पत्र पठाएको र त्यसको जवाफ आउन बाँकी रहेको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले आफूले नै त्रिदेशीय साझेदारीका लागि भारत र चीनका नेतालाई आठ वर्षअघि आग्रह गरेको स्मरण गर्नुभयो ।

सबै मुलुक सार्वभौम रहेकाले नेपाल, भारत र चीन तीन देशकै छुट्टाछुट्टै अस्तित्वमा त्रिदेशीय साझेदारी हुने सहमति पछिल्लो समयमा जुटेको उहाँले बताउनुभयो । यो साझेदारी भएमा नेपालको आर्थिक, भौतिक पूर्वाधार, सामाजिक विकास लगायतमा टेवा पुग्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू