अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

स्व.कर्णकुमार श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’को लोकार्पण

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ११:४८ मा प्रकाशित

समाजसेवी एवम् साहित्यकार स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरू सङ्गृहीत एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । सोमबार राष्ट्रिय नाचघर काठमाडौँमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल सङ्ग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे । विमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमी र चर्चित सङ्गीतकार राजु सिंह लगायतको उपस्थिति रहेको थियो ।

विमोचित एल्बम ‘मनको सागर’मा म ७ वटा गीत तथा गजलहरू रहेका छन् । सङ्गृहीत गीत तथा गजलहरूमा चर्चित गायक गायिकाहरू अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दीपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ । ती गीत तथा गजलहरूमा किरण कडेंल, बिएन.निराकार, रिदम कडेंल र रामकुमार रिमालले सङ्गीत सिर्जना गरेका छन् भने किरण कडेंल, बि.एन.निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन् ।

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित समारोहमा स्व. श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरू सङ्गृहीत एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको हो । बि. स. २००० सालमा गढीथुम्का, इलाममा जन्मिई पूर्वाञ्चल क्षेत्रको दमकमा स्थायी बसोबास गर्नु भएका श्रेष्ठको गत वर्ष निधन भएको थियो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील थिए । करिब ४ दशक शिक्षण पेसामा अनवरत रूपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरूमा व्वतःस्फूर्त रूपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए । श्रेष्ठको यसअघि नाकको अप्रेसन (हास्यव्यङ्ग्यात्मक), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन् । कार्यक्रम चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।

यी २ वटै कृतिहरुको प्रकाशन लेखककी छोरी बुनु श्रेष्ठले गरेकी हुन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू