अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

पर्वतीय फिल्म फेष्टिभल मंसिर २५ देखि २९ सम्म काठमाडौंमा

बिआरटीनेपाल २०७६ मंसिर १७ गते ३:०१ मा प्रकाशित

पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको ‘किम्फ काठमाडौं इन्टरनेश्नल माउण्टेन फिल्म फेष्टिभल’ हुने भएको छ । महोत्सव आगामी मंसिर २५ देखि २९ गतेसम्म चल्नेछ ।

राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने कार्यक्रम किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४ सय २७ वटा फिल्महरूका प्राप्त भएकोमा २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् । जसमा नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुँदैछन् ।

जसमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्’, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौँ’, लगायत फिल्म प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् । महोत्सवको अन्तर्राष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् । त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक र गैर–कथानक फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको फिल्म सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ ।

‘नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले जानकारी दिनुभयो ।

महोत्सवको सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्नेछ । महोत्सवका लागि चलचित्र विकास बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संघसंस्थाहरुको सहयोग रहनेछ ।

प्रतिक्रिया