अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

साग पुरुष क्रिकेट : श्रीलंकासँग नेपाल ६ विकेटले पराजित

बिआरटीनेपाल २०७६ मंसिर १७ गते २:३९ मा प्रकाशित

दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएकाे १७३ रनकाे लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । श्रीलंकाका लागि एस असानले अविजित ७२ रन बनाए ।  त्यस्तै निसान मदुस्काले ४६ रनको योगदान गरे । पी निसंकाले १२ बलमा ३० रन बनाए ।

श्रीलंकाले सुरुवात भने राम्रो गर्न सकेकाे थिएन । उसले ३६ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर त्यसपछि असान र निसानले दरिलो साझेदारी गर्दा नेपालले हार बेहाेर्‍याे । नेपालका लागि बलिङमा पवन सराफले दुई तथा सुसान भारी र सोमपाल कामीले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएकाे थियाे । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१-२१ रन तथा आरिफ शेखले १९ रन बनाए।

पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । चौथो विकेटको लागि दिपेन्द्र ऐरी र विनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरेपछि विनोद २१ रन बनाएर आउट भए । पाँचौँ विकेटका लागि दिपेन्द्रले पवनसँग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिङमा कामिन्दु मेन्डिसले २ विकेट लिए । असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू