अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

गैर आवासीय नागरिकताले तात्दैछ एनआरएन क्यानडा

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ७:०६ मा प्रकाशित

क्याल्गरी, गैर आवासीय नेपाली सङ्घ एनआरएन क्यानडाले नेपाल सरकारले ड्राफ्ट गर्दै गरेको गैर-आवासीय नेपाली नागरिकतामा निहित अधिकार र गैर आवासीय नेपाली ऐनमा के कस्तो व्यवस्था हुनुपर्छ भन्ने विषयमा सरोकारवालाहरूसँग छलफल र सुझाव सङ्कलन गरिरहेको छ। सुझाव सङ्कलन गर्न पश्चिम क्यानडाको क्याल्गरीको एनआरएन एनसीसी सदस्य अनन्त आचार्यको संयोजकत्वमा आज पूर्वी-क्याल्गरीको नेपाली समुदाय एनसीएससीको कार्यालयमा आयोजित कार्यक्रममा झन्डै ४ दर्जन नेपाली समाजसेवीहरूले आ-आफ्ना सुझाव राखे। उक्त कार्यक्रमको सहजीकरण गर्दै राजेन्द्र गौतमले छलफललाई अगाडी बढाउनु भयो।

गैर आवासीय नागरिकता सम्बन्धी कानुन निर्माणको प्रक्रियामा नागरिकता सम्बन्धी ऐन संशोधन, नागरिकताका लागि भाषा सम्बन्धी व्यवस्थाको संशोधन, पुस्ताको सीमा सम्बन्धी प्रावधानको हटाउने, नागरिकता दिने निकायको सहजता सम्बन्धी विषय मुख्य हुन। अनन्त आचार्यले कार्यक्रमको बारेमा विषय प्रवेश गर्दै अपुताली सम्बन्धी व्यवस्था, पैत्रिक सम्पत्ति सम्बन्धी हकका विषयमा पनि प्रस्ट र सहज कानुन निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिइने कुरा जानकारी गराउनु भयो।

अनौपचारिक छलफलको रूपमा चलेको यस कार्यक्रममा मन्तव्य राख्दै बद्री कार्की, कुसुम ज्ञवाली, जगदीश चापागाइले पैत्रिक सम्पत्तिको हक के कसरी हस्तान्तरण हुने, सम्पत्तिको भोग चलनमा के कस्ता प्रावधान रहने भन्ने कुरा प्रवासीहरूको आवश्यकता मैत्री हुनुपर्नेमा जोड दिनु भयो।

भरत रेग्मीले नेपाल सरकारका पूर्व कर्मचारीहरूले गैर आवासीय नागरिकता पाएपछि उनीहरूले नेपाल सरकारबाट खाइपाइ आएको पेन्सन निरन्तर हुने व्यवस्था हुनुपर्छ भन्ने सुझाव दिनु भयो। यसै गरी नवीन सुब्बा, श्रीकान्त अर्याल, प्रकाश क्षेत्री, माधव दुलाल, प्रसन्न श्रेष्ठले हाल गैर आवासीय नागरिकता सम्बन्धी अधिकारलाई संस्थागत गर्ने कुरामा एनआरएनको अभियानको पहिलो एजेन्डा हुनुपर्ने कुरामा अडान लिनु भयो।

अर्का वक्ता डा. राजु तुलाधरले इच्छा पत्रको आधारमा सम्पत्तिको हक हस्तान्तरण सम्बन्धी अहिलेको कानुनमा परिवर्तन गरी त्यो दफाले गैर आवासीय नागरिकता धारीलाई पनि समेट्ने गरी संशोधन हुनुपर्छ भन्नु भयो। पुल्चोक इन्जिनिएरिंग क्याम्पसका पूर्व प्राध्यापक डा. तुलाधरले नेपाल फर्केर विदेशी नागरिकता त्याग्दा पुरानो नागरिकता पुन प्राप्त हुने व्यवस्था पनि हुनुपर्छ कानुनमा भन्ने माग गर्नु भयो। डा तुलाधरका विचारमा सहमति जनाउँदै देश सुब्बा, समीर पाण्डे, राम मरहट्ठाले पनि आफ्ना सुझावहरू राख्नु भयो।

गैर आवासीय नागरिकता र यसका प्रावधानहरूको माग गर्दा विचार पुर्‍याएर गर्नुपर्छ। हामीले मागेका सबै माग भोलि पुरा नहुन सक्छन् तर पनि हाम्रो यो एनआरएन अभियानले निरन्तर प्रवासी नेपालीहरूको अधिकारका पक्षमा पहलकदमी गरीरहनुपर्ने कुरामा जोड दिनु भयो। नेगोसिएसनमा केही प्राप्त हुन्छ केही हुँदैन त्यसैले सबै अभियन्ताहरू सचेत रहनुपर्छ भन्नु भयो। घनेन्द्र न्यौपानेले एनआरएन क्यानडाले आफ्ना अधिकारका लागी गैर आवासीय नेपालीलाई सचेत गराउनु पर्ने आवश्यकता औँल्याउनु भयो।

विकास ढकालले एनआरएनको नारा अनुरूप एक पटकका नेपाली सधैँको नेपाली भन्ने मूल भावलाई मार्ग निर्देशन धारणा मानेर यो सुझाव सङ्कलनको प्रतिवेदन कानुन मस्यौदा गर्ने निकायमा पठाउनुपर्नेमा जोड दिनु भयो। यस्तै धारणा राख्ने प्रकाश बस्याल, विष्णु सुब्बा र ध्रुवराइले समेत नेपालका कानुनमा रहेको गैर आवासीय नेपालीलाई आर्थिक अधिकारमा प्रष्टताको माग गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू