अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

नेपाली संगितलाई ऐतिहासिक अवसर – ग्रामी अवार्डको मनोनयनमा नेपाली

बिआरटीनेपाल २०७६ मंसिर १० गते ५:३९ मा प्रकाशित

नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम ‘देवा’ २०२० को ग्रामी अवार्डको मनोनयनमा परेको छ । आउँदो जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२ औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यु एज एल्बम विधामा मनोनयनमा परेको हो । संगीतको गरिमामय अन्तर्राष्ट्रिय अवार्ड मानिने ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलो पटक प्रवेश पाएको हो ।

मनोनयनको मुख्य जस भने जर्मन गायिका देवा प्रेमलको एल्बम ‘देवा’ लाई जानेछ । नेपाली रक ब्यान्ड २०७४ एडीका पूर्वसदस्य सिंह पछिल्लो समय अमेरिका बसेर गायिका प्रेमल र उनका पति मिटेनसँग सांगीतिक सहकार्य गर्दै आइरहेनुभएको छ  । बौद्ध र हिन्दु मन्त्रमा आधारित यो एल्बमका लागि सिंहले बाँसुरी बाधन गर्नुभएको छ  । ७ वटा गीत समेटिएको एल्बममा स्लो योगा शैलीको अध्यात्मिक संगीत र गायन समेटिएका छन् ।

मेडिटेटिभ र स्पिरिचुअल संगीतका लागि चिनिएकी गायिका प्रेमलले एल्बम ‘देवा’ गायत्री मन्त्रको सत चक्रबाट सुरु गरेकी छन् । यसपछि उनको एल्बममा ‘सर्व मंगला‘’, ‘प्रभुजी‘’, ‘बुद्धम् शरणम्‘’, ‘महामन्त्र‘’, ‘वक्रतुण्ड महाकाय‘’ सुन्न सकिन्छ । एल्बमको अन्तिममा पनि गायत्री मन्त्रकै सात चक्रको मिक्स भर्सन सुन्न सकिन्छ ।

सुन्दै गर्दा आत्मिक आनन्द मिल्ने यी मन्त्र गायनमा सिंहले गरेको बाँसुरीवादन पनि उत्तिकै गहिरो लाग्छ । काठमाडौं बौद्धमा हुर्कीबढेका सिंह आठ वर्षको उमेरदेखि नै बाँसुरीतिर तानिनुभएको थियो । नेपाली रक ब्यान्ड २०७४ एडीसित आबद्ध रहँदा उहाँले कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘पिँजडाको सुगा‘’ देखि ‘सम्झी बस्छु म‘’ लगायतका गीतसम्म बाँसुरी बजाएका थिए ।

हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका उहाँले आफ्नो फेसबुक पेजमार्फत भन्नुभएकोछ ,– ‘हामी ग्रामीका लागि नोमिनेट भयौं भन्ने देवाबाट थाहा पाउँदा निकै खुसी लाग्यो । यो सबैका लागि सुखद समाचार हो ।’

प्रतिक्रिया