अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

‘साग’मा १८ हजार सुरक्षाकर्मी परिचालन गरिने

बिआरटीनेपाल २०७६ मंसिर १० गते ३:४१ मा प्रकाशित

दक्षिण एसियाली राष्ट्रहरुको खेलकुदको कुम्भमेला १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारओटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकुद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधी २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ ।

समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधि सरस्वती केसी र खगेन्द्र पौडेल छन् ।

मुलुकका विभिन्न जिल्लामा यही मंसिर १५ देखि २४ गतेसम्म साग आयोजना हुँदैछ । ‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकुद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

यसपटकको साग सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाल प्रहरीबाट मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । सुरक्षाका लागि जिल्लाबाटसमेत प्रहरी झिकाइएको छ ।

साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट मात्रै पाँच हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । तीन हजार बढी नेपाली सेना खटिनेछन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रतियोगिता हुन लागेकाले शान्ति सुरक्षालाई महत्वका साथ हेरिएको छ ।

यसपटक काठमाडौं, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सन्चालन हुनेछ । काठमाडौंका १२, ललितपुरका ९ र पोखराका ८ तथा जनकपुरको एक स्थानमा खेल हुनेछ । सबै क्षेत्रमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसपटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ । अन्तिम समयमा पाराग्लाइडिङ खेललाई हटाएको छ ।

खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाली सहभागी हुने जनाइएको छ । सागका ९ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौं तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउनेछ । खेलमा आयोजक प्रतिनिधि, निर्णायकमन्डलसहित दुई हजार २०९ जना सहभागी हुनेछन् । दुई हजार स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट सागको सुरुआत भएको हो । सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि यसपटक नवौं संस्करण नेपालमा आयोजना भएको हो । सागमा कुल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यपदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलको कृष्णसार आकृतिमा ‘मस्कट’ तयार गरिएको हो ।

हरेक दुई वर्षमा आयोजना हुने प्रतियोगिता वि.सं. २०७२ को विनाशकारी भूकम्पका कारण हुन सकेको थिएन । प्रतियोगितालाई ध्यानमा राखेर अहिले पूर्वाधार निर्माण, खेलस्थलको सौन्दर्यकरणको काम जारी छ । धेरै खेलाडीको सहभागिताले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण रहने विश्लेषण गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएर यातायात व्यवस्थापन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उद्घाटन र समापनको दिनमा हुने भीड व्यवस्थापनका लागि छिट्टै बाटो निर्धारण गरेर सर्वसाधारणलाई अपिल गरिने उहाँले बताउनुभयो उक्त समयमा मुख्य सडकको ट्राफिक कम गर्न भित्री सडक तथा ‘कोरिडोर’ खुला गर्न लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू