अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

बिआरटीनेपाल २०७६ मंसिर ९ गते २२:१० मा प्रकाशित

बागलुङ: चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् ।

बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् । उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्युबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उनी बताउँछन् । गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाइ छ ।

‘धेरै पटक विफल भए तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो’, गणेशले भने, ‘अन्ततः म प्रयास, सोच र योजनामा सफल भएको छु ।’ उनले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौँ अभिभावक र विद्यार्थीका बिच गुडाएरै परीक्षण र प्रदर्शनीसमेत गरिएको थियो । यसअघि उनले क्ल्याफ स्विच बल्भ, स्पिकर इन्भटरजस्ता इलेक्ट्रिक समान बनाउन सफल भएका थिए । फुर्सद हुँदा साथ नयाँ नयाँ खोज र अनुसन्धानमा ध्यान दिने श्रेष्ठले भविष्यमा इलेक्ट्रिक इन्जिनियर बन्ने सपना रहेको सुनाए । मोटरसाइकल निर्माणमा ६० हजार रुपैयाँ खर्च लागेको उनले बताए ।

विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरिएको जानकारी दिए । ‘विद्यालयमा उनी पढाइमा मध्यम खालका विद्यार्थी हुन् तर प्रविधिमा उनको बढी रुचि र लगाव छ’, उनले भने, ‘निरन्तरको लगावका कारण नेपालमै नयाँ खालको पेट्रोलबिनै चल्ने मोटर निर्माण गरेका छन्, अब हामी उनलाई थप प्राविधिक ज्ञान हासिल गर्न उपर्युक्त वातावरण र व्यवस्था गर्न पहल र सहयोग गर्नेछौ ।’ अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू