अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

गण्डकी प्रदेश र वासिङ्टन राज्य बिच भगिनी सम्बन्ध कोशे ढुङ्गा साबित हुने : मोहन गुरुङ

विजय थापा २०७६ मंसिर ९ गते २१:५१ मा प्रकाशित

डिसी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अमेरिकाको भ्रमणको क्रममा भगिनी सम्बन्ध (सिस्टर स्टेट) स्थापना गर्न वासिङ्टन राज्यका गभर्नर जे इन्स्लीसँग भेटघाट गर्नु भएको थियो । गत नोभेम्बर १४ का दिन भएको भेटघाटमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भगिनी सम्बन्धको मौखिक प्रस्ताव साथै लिखित रूपमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन निम्तो समेत दिनु भएको जानकारी एसिया प्यासिफिक अमेरिकी मामिलाका आयुक्त मोहन गुरुङले बताउनु भयो ।

आयुक्त गुरुङले दुई राज्य बिच भगिनी सम्बन्ध स्थापित भएमा कोशे ढुङ्गा साबित हुने बताउनु भयो । आयुक्त गुरुङले थप जानकारी दिँदै मुख्य मन्त्रिले भगिनी सम्बन्ध स्थापनाको लागी राखेको प्रस्तावलाई गभर्नरले खुसी व्यक्त गर्दै सकारात्मक रूपले लिनु भएको जनाउनु भएको छ ।

आयुक्त गुरुङले यसको लागि लिखित रूपमा प्रस्ताव आउनु पर्ने र प्रस्ताव आए पछि वासिङ्टन राज्य व्यवस्थापिका द्वारा पारित भए पछि भगिनी सम्बन्ध स्थापना हुने बताउनु भयो । मुख्य मन्त्री नेपाल फर्कनु भई सक्नु भएकोले यसको लागि नेपालमा काम भई रहेको आफूलाई लागेको बताउनु भयो ।

वासिङ्टन राज्यका गभर्नर जे इन्स्ली तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ बिच भेटवार्ता गराउने कार्य नेपाल ग्लोबल ट्रेड युएएस नामक संस्थाको माध्यमद्वारा सम्भव भएको हो । उक्त संस्था वासिङ्टन राज्यमा दर्ता भएको छ । जसको मुख्य उद्देश्य दुई देश बिचको व्यवसायलाई प्रवर्द्धन गर्ने ,अमेरिकी लगानीकर्ता तथा उद्योग पतिलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने रहेको छ ।

उक्त संस्थाका संस्थापक एसिया प्यासिफिक अमेरिकी मामिलाका आयुक्त मोहन गुरुङ स्वयम् हुनु हुन्छ । यसको अतिरिक्त गभर्नर सँग मुख्य मन्त्री गुरुङले भ्रमण वर्ष २०२० को निम्तो दिँदा नेपाल भ्रमण सम्बन्धमा नेपाल मेरो इच्छा सूचिमा रहेको थियो भन्नु भयो । गभर्नरले म र मेरो परिवारले पहाड हेर्न मन पराउने समेत जनाउनु भएको थियो । गभर्नर ईन्स्लिले भ्रमण वर्षको निम्तो दिएकोमा धन्यवाद दिँदै एकदम खुसी लागेको बताउनु भएको थियो ।

भगिनी सम्बन्ध तथा अन्य व्यवसाय सम्बन्धमा आयुक्त गुरुङले लिखित रूपमा सम्झौता ज्ञापन (एमओयु )नभएको बताउँदै यसको लागि दुवैले मुलुकका राज्यका प्रतिनिधिहरूको हस्ताक्षर गर्नु पर्ने बताउनु भयो । यो नआईकन कुनै कुरा अगाडी नबढ्ने हुनाले जति छिटो नेपालबाट लिखित प्रस्ताव आउँछ त्यति नै छिटो दुवै देशलाई फाइदा हुने सम्भावना रहेको जनाउनु भयो ।

यसको अतिरिक्त गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले लगानीका क्षेत्रहरू जस्तै जलविद्युत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडीबुटी र वनस्पतिमा लगानीको प्रचुर सम्भावना रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू