अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

भारतका प्रधानमन्त्री मोदीलाई विरोध पत्र

बिआरटीनेपाल २०७६ मंसिर ९ गते ११:३६ मा प्रकाशित

२०७६ मंसीर ९ गते

सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदीज्यू,
भारत सरकार,
मार्फत भारतीय राजदूतावास
लैनचौर, काठमाडौँ, नेपाल

विषय: विरोध पत्र ।

नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, अखण्ड एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा विश्व मानचित्रमा रेखाङ्कित रहँदै आएको छ । सुँघौली सन्धि अघिको विशाल नेपाल पश्चिममा सतलज र पूर्वमा टिष्टासम्म फैलिएको थियो । तत्कालीन अंग्रेजसँगको लडाइँ र इष्ट इन्डिया कम्पनीसं्ँग भएको सुँघौली सन्धि आजको नेपाल र भारत बिचको सिमाङ्कनको मूल आधार हो ।

हालै भारत सरकारको गृह मन्त्रालय र नापी विभागले जारी गरेको भारतको राजनीतिक नक्सामा नेपालको दार्चुलामा पर्ने नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारततर्फ राखेर सार्वजनिक गरेको विषय नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप हो । इतिहासदेखि नै नेपालको दुवै छिमेकी भारत र चीनसँग सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । तर भारतको पछिल्लो हस्तक्षेपकारी प्रकरणले दुई छिमेकी बिचको सम्बन्धमा दरार सिर्जना गरिदिएको छ ।

भारतीय शासक वर्ग नेपाल, भारत सम्बन्धलाई प्रगाढ बनाउनुको अलावा सुगौली सन्धि अनुसारको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका दर्जनौँ क्षेत्र अतिक्रमण गर्न आइपुग्नु तथा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु लज्जाजनक र खेदजनक छ । स्मरणीय छ, नेपाल र इष्ट इन्डिया कम्पनीबिच ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सिमाना महाकाली नदी मानेको छ । त्यस्तै १९६१ अक्टोबर ५ मा नेपाल र चीनको सीमा सन्धिको धारा १ (१)मा नेपाल र चीनको सीमारेखा काली नदी र टिंकर नदीको पानीढलोबाट प्रारम्भ हुने भनेर स्पष्ट भनिएको छ । यी दुवै सन्धि, सम्झौताहरूबाट नेपालको पश्चिमी सिमाना महाकाली नदी नै हो भनेर स्पष्टतः रेखाङ्कन गरिएको छ, साथै महाकाली नदीको मुहान पनि लिम्पियाधुरा हो भनेर प्रस्ट रूपमा उल्लेख भएबाट नेपालको पश्चिमी सिमानाको बारेमा विवाद हुनु नपर्ने स्पष्ट देखिन्छ ।

यति हुँदा हुँदै पनि भारत सरकारले गरेको सीमा अतिक्रमणले हाम्रो सार्वभौमिकता र राष्ट्रियता माथि आँच पुगेको छ । यस घडीमा राष्ट्रियताको रक्षा, संरक्षण र सम्बद्र्धनका लागि कला–साहित्य, संस्कृति क्षेत्रका विचारक तथा चिन्तक, संस्कृतिकर्मीहरू राष्ट्रिय जागरण र नेपाली भूमि रक्षाको अभियानमा सचेत तथा क्रियाशील रहँदै आएका छौँ ।

छिमेकी भारतलाई स्मरण हुन आवश्यक छ कि नेपाल—भारत बिचको असल सम्बन्धबाट मात्रै भारतको उचित मूल्य स्थापित हुनेछ । हाम्रा धार्मिक ग्रन्थ तथा ऐतिहासिक दस्ताबेजहरूको अध्ययनबाट नेपालको ऐतिहासिक विरासत स्पष्ट हुन आउँछ । नेपालको छिमेकीहरूसँगको सिमाना मौलिक ढङ्गबाट हिमाल, नदी, खोला र जङ्गललाई आधार बनाएर तोकिएको छ । त्यही अनुरूप इष्ट इन्डिया कम्पनी (ब्रिटिस)ले नेपाल भारतको पश्चिमको सिमाना महाकाली नदी गरेको तर्फ विशेष ध्यान दिन आवश्यक देखिन्छ । यही तथ्यलाई आधार मान्दै भारतले आफ्नो नक्सा मात्र होइन कालापानीबाट तुरुन्त आफ्नो सेना समेत हटाउन जरुरी छ । नेपालको भूमि अतिक्रमण गरी आफ्नो हेपाहा र प्रभुत्ववादी मानसिकताबाट ग्रसित भारत सरकार बेलैमा जिम्मेवार र जबाफदेही बन्न सक्नुपर्छ । नेपालको सिमानामाथि अतिक्रमण गर्ने भारत सरकारको हेपाहा प्रवृत्ति प्रति हामी देशभक्त नेपाली संस्कृतिकर्मीहरू घोर खेद व्यक्त गर्दछौँ । साथै कूटनैतिक माध्यमबाट समस्याको समाधान हुन नसक्दा नेपालले अन्तर्राष्ट्रिय अदालतसम्म जान पर्ने बाध्यता आउन नदिन भारत समयमै सचेत हुनु आवश्यक छ ।
जय मातृभूमि ।

……………………….
श्री खगेन्द्र राई
(संयोजक)
सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान,

प्रतिक्रिया