अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

पर्यटन व्यवसायी प्रकाश सिंह कार्कीद्वारा जेहेन्दार विद्यार्थी एकतालाई आर्थिक सहयोग

बिआरटीनेपाल २०७६ मंसिर ९ गते ११:१९ मा प्रकाशित

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन् । आइतबार सोलुखुम्बु घर भई काठमाडौँ बसोबास गर्ने पत्रकारहरूसँगको भेटघाट कार्यक्रमबिच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

आर्थिक अवस्था कमजोर भएका समस्या देख्नुका साथै सानैमा बुवा आमा गुमाएकी र उनको पढाई एकदम राम्रो भएकाले सहयोग गरेको कार्कीले बताए, ‘उनको पढाई र इमान्दारिता हेरेर आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु ।’

पर्यटन व्यवसायी समेत रहेका कार्कीले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकको संवृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उनले बाह्य मात्रै नभएर आन्तरिक पर्यटन प्रवर्धन मार्फत स्थानीय उत्पादनको सदुपयोग गरेर आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा राज्यलाई आवश्यक पूर्वाधार निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न सकिने बताए ।

त्यस्तै देशमा मौलाई रहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनीकरणमा लाग्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए ।

सोही अवसरमा नेपाली काँग्रेस महासमिति सदस्य तथा सोलुखुम्बुका नेता राम बहादुर बस्नेतले विशेष गरी सोलुखुम्बुमा भएको भ्रष्टाचारलाई सञ्चारमाध्यमले उजागर गर्दै सुसूचित गर्नु पर्ने र सोलुखुम्बुलाई भ्रमण बर्ष-२०२० को प्रमुख गन्तव्य बनाउन सोलुखुम्बुका संचारकर्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौँ आएर पत्रकारिता गर्ने अधिकांश पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया