अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

राष्ट्र बैङ्क डेपुटी गभर्नर सिवाकोटीको अकुत सम्पत्ति

बिआरटीनेपाल २०७६ मंसिर ६ गते ८:५९ मा प्रकाशित

काठमाडौँ, राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसँग अकुत सम्पत्ति रहेको विवरण फेला परेको छ ।

दुई छोरीलाई अमेरिकामा खर्च गरी पठाएका सिवाकोटीले उनीहरूसहितका नाममा सम्पत्ति रहेको झूठा विवरण तयार पारी सम्पत्ति शुद्धीकरण विभागलाई पठाएका छन् तर त्यसमा पनि कतिपय स्रोत खुलाइएका छैनन् । जुन विवरण राष्ट्र बैङ्कमै पनि सुरक्षित छ ।

गभर्नरको दौडका लागि तयार रहेका सिवाकोटीले सम्पत्ति विवरणमा एक मोटरसाइकल र पत्नी कमला ओझाका नाममा एक स्कुटर देखाएका छन् । स्व आर्जन र कर्मचारी सुविधाका कतिपय आर्थिक विवरण देखाए पनि उनले आफ्ना दुई छोरीलाई अमेरिका पठाएको स्रोत, त्यहाँ पठाएको खर्चको आम्दानीका बारेमा केही पनि खुलाएका छैनन् ।

उनका दुई छोरी सलुजा र समीक्षा सिवाकोटी अमेरिकामा छन् । दुई छोरीका नाममा पनि बैङ्क खातामा रकम रहेको जसलाई सिवाकोटीले पत्नी ओझाको तलब भत्ता सुविधाको विवरणमा राखेका छन् ।

त्यति मात्र होइन, उनले आफ्नो तलब भत्ता सुविधाको रकम भनी माछापुच्छ्रे«े बैङ्क, नबिल बैङ्क, सिद्धार्थ, कृषि विकास बैङ्कलगायतमा खाता रहेको विवरण प्रस्तुत गरेका छन् । जुन उनको आर्थिक हैसियत, रवाफ र दैनिकी सञ्चालनभन्दा निक्कै कम देखिन्छ ।

तलब भत्ता, बैङ्क कर्जालगायतका विभिन्न शीर्षक राखी एक करोड भन्दा बढीको शेयर लगानी विभिन्न वित्तीय संस्था, हाइड्रोलगायतमा रहेको उनको विवरणमा उल्लेख छ ।

कतिपय रकम स्व आर्जन शीर्षकमा राखिएका छन् । तर केबाट कसरी आर्जन गरियो भन्ने कुनै खुलासा गरिएको छैन । उनले बुझाएको सम्पत्ति विवरणमा नै कतिपय आयआर्जनको शीर्षक नखुलाउनु, स्व आर्जन लेखिनु शङ्कास्पद रहेको छ ।

ग्लोबल आईएमई बैङ्कबाट २७ लाख भन्दा बढी रकम ऋण लिएको उल्लेख गरेका उनले सो रकम के का लागि लिएको भन्ने विवरण उल्लेख गरेका छैनन् । बरु, २५ लाख भन्दा बढी रकम विभिन्न साथीभाइलाई सापटी दिलाएको विवरण पेस गरेका छन् । यसले के शङ्का स्थापित गर्दछ भने, बैङ्कको ऋण लिएर कसैले पनि सापट रकम दिँदैन । दिएको खण्डमा चर्को ब्याजदर (अवैध) मा दिएको आशङ्का गर्ने ठाउँ दिन्छ ।

सिवाकोटी आगामी गभर्नर बन्नका लागि सत्तारुढ पार्टीको छायामा सक्रिय छन् । सञ्चार मन्त्री गोकुल बास्कोटा उनका साथी भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उनले लबिङ थालेको उच्च स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागका महा निर्देशक रूपनारायण भट्टराईका भान्जा पर्ने सिवाकोटीले आफ्ना ज्वाँई पर्ने लक्ष्मी निरौलालाई आगामी डेपुटी गभर्नर बनाउने लबिङ पनि गरेको उच्च स्रोतले जनाएको छ ।

विभागीय जिम्मेवारीमा नै नपर्ने, सामूहिक निर्णयका आधारमा हुने कतिपय विषयको झूठा विवरणमा वरिष्ठ डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सम्पत्ति शुद्धीकरणले पत्र काटेपछि उनीमाथि छानबिन गर्न राष्ट्र बैङ्कले समिति गठन गरेपछि सिवाकोटी गभर्नरको दौडका लागि शक्ति केन्द्रमा छन् ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने छानबिन समितिको समयसीमा रहेको छ । समितिले छानबिन गर्नु पूर्व नै विवादित बनेको छ । समितिको काममा चित्त नबुझेको भन्दै त्यसका एक सदस्य रामजी रेग्मीले राजीनामा दिइसकेका छन् । स्रोतका अनुसार दबाब र नियतका आधारमा छानबिन गर्ने र प्रतिवेदन तयार पार्न नसकिने भन्दै रेग्मीले राजीनामा दिएका हुन् ।

राष्ट्र बैङ्क सञ्चालक समितिले श्रीराम पौडेलको संयोजकत्वमा रेग्मीसहित सुबोधराज कर्णको तीन सदस्यीय समिति गठन गरेको थियो । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू