अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

महासङ्घका अध्यक्ष राणा र संयुक्त अरब इमिरेट्सका राजदूत बिच भेटवार्ता

बिआरटीनेपाल २०७६ मंसिर ५ गते १२:४४ मा प्रकाशित

आगामी वर्ष दुबईमा हुने वार्षिक लगानी सम्मेलनमा भाग लिन महासङ्घलाई निम्तो

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी (H.E. Mr. Saeed Hamdan AL naqbi, Ambassador of United Arab Emerates to Nepal) बिच आज महासङ्घ सचिवालयमा भेटवार्ता भएको छ । भेटवार्तामा महासङ्घका महा निर्देशक धरणीधर खतिवडाको पनि सहभागिता थियो ।

उक्त भेटवार्तामा नेपाल र संयुक्त अरब इमिरेट्स बिच सहयोग एवं सहकार्य, नेपालमा संयुक्त अरब इमिरेट्सको लगानी आकर्षण, निजी क्षेत्र –निजी क्षेत्र बिचको सहयोग, सहकार्य र सम्बन्ध विस्तारका विषयमा छलफल भयो । साथै सो अवसरमा आगामी सन् २०२० को मार्च २४ देखि २६ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने वार्षिक लगानी सम्मेलन (The Tenth Edition of the Annual Investment Meeting) को दशौँ संकरणमा नेपालको निजी क्षेत्रको सहभागिताका विषयमा पनि वृहद छलफल भयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष राणाले दुवै देशको निजी क्षेत्र बिचको सम्बन्ध विस्तार मार्फत नेपालमा कृषि, पर्यटन, नेपाली उद्योग व्यवसायको क्षमता अभिवृद्धि, उत्पादनमूलक क्षेत्रमा संयुक्त अरब इमिरेट्सको लगानी, प्रविधि तथा अनुभव आकर्षणका लागि कूटनीतिक माध्यमबाट सहयोग गर्न राजदूत समक्ष आग्रह गर्नुभयो । अध्यक्ष राणाले दुबईमा हुने लगानी सम्मेलनमा महासङ्घको नेतृत्वमा अर्थपूर्ण सहभागिता हुने र मेलालाई दुवै देशको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि भरपुर उपयोग गर्ने विश्वास दिलाउनु भयो ।

सो अवसरमा राजदूत हमदान अल नाकवीले नेपाल र संयुक्त अरब इमिरेट्स बिचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिँदै दुवई सम्मेलनमा नेपाली निजी क्षेत्रको सहभागिताका लागि महासङ्घका अध्यक्षलाई निम्तो दिनु भयो । नेपालको विकास प्रयासमा सहयोग गर्न आफ्नो देश सदैव तयार रहेको विश्वास दिलाउनु हुँदै राजदूतले खास गरी संयुक्त अरब इमिरेट्समा नेपाललाई एक प्रमुख लगानी गन्तव्यको रूपमा प्रवर्द्धन गर्न जोड दिनु भयो । साथै उहाँले आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा महासङ्घले थाल्ने प्रयासमा राजदूतावासले सदैव सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो ।

कार्यक्रममा संयुक्त अरब इमिरेट्सको नेपाल स्थित दूतावासका अधिकारी, महासङ्घका वरिष्ठ अधिकृतहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू