अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

नेपाली विद्युत् बजारको सम्भावना उच्च

बिआरटीनेपाल २०७६ मंसिर ५ गते १२:३८ मा प्रकाशित

काठमाडौँ ५, मङ्सिर । ऊर्जा विज्ञ तथा सरोकारवालाहरूले नेपालको विद्युत्को आन्तरिक तथा बाह्य बजारको सम्भावना उच्च रहेको बताउँदै उचित समन्वयका साथ उपयोगमा ल्याउन सकिने औँल्याएका छन् ।

बिहीबार राजधानीमा सुरु भएको पावर समिट–१९को कनेक्टिभिटी एण्ड मार्केटस फर नेपालको सत्रमा सहभागी वक्ताहरूले बीबीआईन मुलुकबिच सहकार्य र नेपालको आन्तरिक बजारमै उपयुक्त पहुँच विस्तार गर्न आवश्यक देखिएको औँल्याएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले जलविद्युत् क्षेत्रमा नेपालले ठुलो प्रगति गरिरहेको बताउँदै यो क्षेत्रमा भएको लगानीको प्रतिफल सुनिश्चित, थप लगानी र समग्र अर्थतन्त्रको विस्तार गर्न सरकार बजार खोजी तथा विस्तारलाई तीव्रता दिएको बताए । आउँदो बर्सातदेखि नै विद्युत् सर प्लस हुँदैछ,” उनले भने, “भारत बङ्गलादेश चिन जस्ता छिमेकी मुलुकमा विद्युत् विक्री गर्ने तथा स्वदेशमा घरायसी तथा औद्योगिक प्रयोजनमा विद्युत् खपत बढाउने काम अझै तीव्रता दिनु पर्छ ।” आन्तरिक माग पुरा भएपछि मात्र नियार्त गर्ने नीति सरकारको रहेको उनको भनाई थियो ।”

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाली विद्युत्को बजार वृहद रहेको तर अझै पहिचान हुनै बाँकी रहेको बताए । एलपी ग्यास विस्थापनबाट घरायसी खपत बढाउन सकिने, पूर्वाधार विकासले तीव्रता पाउँदा नयाँ नयाँ बजार सृजना समेत हुने उनको भनाई थियो । “दक्षिण एसिया हाम्रो विद्युत्को बृहद बजार हो,” उनले भने “ विद्युत् क्रेता विक्रेता बिच विन विनको अवस्था आउँदा यो क्षेत्रको समग्र अर्थतन्त्र नै लाभान्वित हुने र गति लिने अवस्था हुन्छ ।” अधिकारीले नेपालको जलविद्युत्को क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी उच्च रहेको जानकारी दिए । लगानी विस्तारका लागि विद्युत् खरिद विक्री पद्धति लचक हुनुपर्ने, धेरै सर्तहरू राख्न नहुने सुझाव दिए । “आन्तरिक तथा “अन्तर्देशीय प्रसारणलाईन विस्तार तथा अन्य प्रविधि उपयोगलाई तीव्रता दिने र विना अवरोध विद्युत् कारोबार हुने वातावरण बनाएर अपार बजारमा नेपाली विद्युत् प्रयोग हुनेछ,” उनले भने ।

इसिमोडका जल तथा ऊर्जा नीति सल्लाहकार डा. रमेश आनन्द वैद्यले बङ्गलादेश, भुटान, भारत नेपाल(बीबीआईएन)मा इनर्जी मिक्सको आवश्यकता रहेको र त्यसका लागि नेपालको विद्युत् उपयुक्त देखिएको भनाई राखे । सौर्य ऊर्जा प्रणाली सस्तो हुँदै गएको विषयलाई चुनौतीपूर्ण मान्नु पर्ने अवस्था भने नभएको उहाँको भनाइ थियो । भारतले सन् २०२२ सम्ममा १६० गिगावाट आवर विद्युत् सौर्य ऊर्जा प्रणालीबाट उत्पादन गर्न लागेको बताउँदै उनले भने, “ प्रणाली स्थिरताका लागि पुन जलविद्युत् चाहिन्छ । उपयुक्त संयोजनका लागि नेपालको संस्थागत संरचना बलियो हुनुपर्छ ।”

ऊर्जा विज्ञ प्राध्यापक अमृतमान नकर्मीले नेपालको आन्तरिक वितरण प्रणाली सुधार गर्न सके विदेशी बजार खोज्नै नपर्ने प्रस्ट पारे । “नेपालको प्रतिव्यक्ति ऊर्जा खपत अत्यन्तै न्यून रहकाले आर्थिक समृद्धिका लागि पनि देशभित्रै खपत बढाउनुपर्छ,” उनले भने, “खाना पकाउने ग्यास विस्थापन गर्ने हो भने अहिले नै एक हजार मेगवाटको बजार छ, १० वर्षमा साढे पाँच हजार मेगवाट चाहिन्छ ।” ग्राहस्थ उपभोक्ता स्वदेशी विद्युत् प्रयोग गर्न चाहेर नपाएको भन्दै आलोचना गर्नुभएको थियो । इन्डक्सन चुलो चलाउन १५ एम्पेयरको एमसीबी चाहिन्छ । नकर्मीका अनुसार ७० प्रतिशत ग्राहकलाई पाँच एम्पियरको पहुँच दिइएको छ । त्यस्ता ग्राहकले चाहेर पनि इन्डक्सन बाल्न पाउनु नपाएको बताए । व्यापार घाटाको मुख्य कारण पेट्रोलियम आयात घटाउन र नेपालको अर्थतन्त्रलाई मजवुद बनाउन आन्तरिक खपत विस्तार नै उपयुक्त विकल्प रहेको उनको भनाई थियो ।

डाल्मा हिमालय इनर्जीका प्रबन्ध निर्देशक डा. सन्दीप शाहले सौर्य ऊर्जा र जलविद्युत्लाई परिपूरक रूपमा हेर्नु पर्ने सुझाव दिए । एनले भने, “सुख्खा याममा जलविदुत् उत्पादन घटने शौय बढने तथा बर्सातमा सौर्य घटने र जलविद्युत् उत्पादन घटने भएकाले दुवैले एक अर्काको परिपूर्ण गर्छन् । ” यसबाहेक पिक डिमान्डलाई पनि व्यवस्थापन गर्न सकिने तर्क उहाँले राख्नु भयो । दिनभर प्यानलले ब्याट्री चार्ज गर्ने, साँझ बजारमा आपूर्ति गर्ने र राती भने जलविद्युत्ले त्यसलाई चार्ज गर्ने व्यवस्था गरे बिहानको डिमान्ड पनि व्यवस्थापन हुनेछ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू