अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको अडिसन सुरु

बिआरटीनेपाल २०७६ मंसिर ४ गते २२:५७ मा प्रकाशित

धरान,  पूर्वाञ्चलकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दसौँ संस्करणको पहिलो अडिसन धरान स्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, विराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीहरू सहभागी भएका थिए । अडिसनको निर्णायकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु, मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन, मिस पूर्वाञ्चल २०१७ फर्स्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पूर्वाञ्चल २०१८ फर्स्ट रनर अप अनिला क्षेत्री रहेका थिए ।

सहभागीहरूको योग्यता, पर्फर्मेन्स अनुसार मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धाको लागि छानिने र त्यस्तै विराटनगर, इटहरी र दमकमा समेत बिहीबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढा बाट आउनु छुटेका हरूको समेत आइतबार सम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए । अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् । प्रतियोगितालाई प्रदेश न १ तथा पूर्वी क्षेत्र व्यापी र पर्यटन प्रवर्द्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरू समेत राखिएको छ ।

सहभागीहरूलाई रक्तदान, ट्राफिक सचेतना र सरसफाइका कार्यक्रम, सामाजिक उत्तरदायित्वका कार्यहरूमा यस वर्ष पनि निरन्तरता दिइनेछ ।ती कार्यक्रमहरू पूर्वका विभिन्न सहरहरूमा आयोजना गरिनेछ । बराह ग्रुपको प्रस्तुति, सिजी ब्रुअरीको मुख्य प्रायोजन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह -प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुई लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिवार धरानमा भब्यरुपमा आयोजना गरिनेछ ।

त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरू पन्ध्र हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङ्का श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पूजा श्रेष्ठले जितेकी थिए ।

प्रतिक्रिया