अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

१३ औं ‘साग’मा पाराग्लाइडिङ नहुने, नेपाललाई घाटा

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:४६ मा प्रकाशित

यही मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने विभिन्न नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय टोली तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले मंगलबार पत्रकार सम्मेलन गरी सागका लागि नेपाली टोली पूर्ण तयार अवस्थामा रहेको जानकारी दिनुभयो ।

नेपालले सागमा समावेश सबै २८ खेलमा प्रतिस्पर्धा गर्दैछ । खेलाडी दर्ताको आधिकारिक समय बुधबारसम्म भएपनि नेपालबाट ५९२ खेलाडी सहभागी हुने टुंगो लागिसकेको छ । खेलाडीहरुलाई गएको जेठ १५ गतेदेखि चार चरणमा प्रशिक्षण गराइएको रानाभाटले जानकारी दिनुभयो । यसपटक २१ ओटा खेलका खेलाडीहरुलाई विभिन्न माध्यमबाट वैदेशिक प्रशिक्षणमा पठाइएको छ ।

नेपालले आठौं सागमा प्राप्त गरेको सफलतालाई यसपटक उछिन्ने राष्ट्रिय टोली तयारी समितिको दाबी छ । मुख्य रंगशाला दशरथ रंगशाला तयार हुन अझै केही दिन लाग्ने देखिन्छ । रंगशालाको ‘भीआइपी’ पारापिटमा छानो हाल्ने काम भइरहेको छ । यसबाहेक अरु खेलस्थलहरुको पनि मर्मत–सम्हार चलिरहेको छ ।

सागमा समावेश २८ खेलमध्ये १९ खेल काठमाडौंमा हुनेछन् । पोखरामा ८ खेल हुनेछन् । कुस्ती खेल जनकपुरमा हुनेछ । आसन्न सागमा नेपालले स्वर्णपदकको आशा गरेको पाराग्लाइडिङ खेल भने नहुने भएको छ । सागमा समावेश गर्न कम्तीमा चार देशले प्रतिनिधित्व गर्नुपर्ने प्रावधान पूरा नभएपछि यो खेललाई हटाइएको हो । एसियाली खेलकुदमा कास्यपदक जितेको नेपालले पाराग्लाइडिङको खेल भएको भए स्वर्ण जित्ने सम्भावना थियो ।

प्रतिक्रिया