अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

उपनिर्वाचन २०७६ – कास्कीमा चुनावी रौनक

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:२० मा प्रकाशित

कास्की क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको तिथि नजकिन थालेपछि चुनावी प्रचारप्रसारले तीव्रता लिएको छ । मतदातालाई आफ्नो पक्षमा आकर्षित पार्नका लागि घरदैलो कार्यक्रम, कोणसभा र सडकमा पार्टीका झण्डा र चुनाव चिह्न बोकेर कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन् । कास्की क्षेत्र नं–२ को यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपाका उम्मेदवार विद्या भट्टराई स्व रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्न र विकास निर्माणको कार्यलाई प्राथमिकता राख्ने वाचाका साथ मतदातालाई आकर्षित पार्नका लागि मतदातालाई आफ्नो पक्षमा पार्न जुट्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल यस उपनिर्वाचनमा उमेरको आधारमा जेठो उम्मेद्वार हुनुहुन्छ । ७४ वर्षीय पौडेलले यो उमेरमा पनि युवाजतिकै खट्नसक्ने र निष्ठाको राजनीति गरिएकाले मतदातासमक्ष आफूलाई जिताउनका लागि आग्रह गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोमबहादुर भण्डारीले यो उपनिर्वाचनमा नेकपा हारे पनि सरकारलाई कुनै असर नपर्ने, कांग्रेस जिते पनि सरकारमा पुग्न नसक्ने भएकाले सनातन धर्मका लागि आवाज उठाउँदै आइरहेको राप्रपाको उम्मेदवारको रूपमा आफूलाई जिताउनतर्फ लाग्न मतदातालाई आग्रह गर्नुभएको छ । समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ लामो समयदेखि नेकपा र नेपाली कांग्रेसले मुलुकमा शासन चलाएको भए पनि कास्कीमा सो अनुरूपको विकास नभएको अवस्थामा आफूलाई जिताएमा कास्की क्षेत्र नं–२ मा विकासका कार्यलाई तीव्रता दिने दाबीका साथ मतदाताबीच पुग्नुभएको छ ।

साझा पार्टीका उम्मेदवार रजनी केसी नेकपा र नेपाली कांग्रेसले जनताको वाचा पूरा नगरेको र मुलुकमा भ्रष्टचार मौलाएको भन्दै आफूलाई जिताएमा जनताबीच गरिएको वाचा पूरा गर्ने भनेर मत माग्न व्यस्त हुनुहुन्छ । यसैगरी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बाट श्रीमती गङ्गा मल्ल आ–आफ्ना चुनाव प्रचारप्रसारलाई तीव्रता दिनुका साथै निर्वाचनको परिणाम आफ्नै पोल्टामा पर्ने विश्वासका साथ चुनावी मैदानमा होमिनुभएको छ ।

स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनुभएका उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पङ्गेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनिल भुषाल आ–आफ्ना चुनाव चिह्नका साथ मतदाताको घरदैलोमा ज्ट्नुभएको छ । कास्की क्षेत्र नं–२ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ । नगरपालिकाका वडा नं–४,७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रमा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू