अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको पुनः आह्वान

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:१० मा प्रकाशित

निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा आयोगले विश्वास लिएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मङ्सिर २ गतेदेखि निर्वाचनको प्रचारप्रसारमा छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्या्दित तुल्याउन आयोगले यसअघि नै सरकार र राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइसकेको छ । उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको छ ।

आयोगले २०७४ को अनुभवको आधारमा यस पटक जिल्ला न्यायाधीशको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाबाट निर्वाचनमा भाग लिने राजनीतिक दल प्रमुख एवं प्रतिनिधि संलग्न रहने गरी जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिसम्बन्धी नयाँ व्यवस्था गरेको छ । जिल्लामा उक्त समिति क्रियाशील रहेको हुनाले विगतको जस्तो अहिले आयोगको केन्द्रीय कार्यालयमा हालसम्म कुनै उजुरी नभएको आयुक्त पौड्यालले जानकारी दिनुभयो । निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता उल्लङ्घनका घटनाको अनुगमन गर्न केन्द्रमा पनि आचारसंहिता अनुगमन समिति रहेको छ ।

उक्त समितिमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगका सचिव रहने व्यवस्था छ । उक्त समितिले दिएको सुझावका आधारमा आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको प्रकृति हेरी उम्मेदवारीदेखि खारेजसम्म गर्ने सक्नेछ ।

यही मंंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू