अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

यसै आर्थिक वर्षमा देश विद्युत् मा आत्मनिर्भर – ऊर्जामन्त्री पुन

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:५४ मा प्रकाशित

नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ परियोजनाको औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट ‘स्वीच’ थिचेर ६० मेगावाट क्षमताको परियोजनाको सोमबार उद्घाटन गर्नुभएको हो ।

गएको चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिम्लेबाट एकसाथ उद्घाटन गर्नुभएको थियो ।

आयोजनाको उद्घाटन गर्दै मन्त्री वर्षमान पुनले सरकारले ऊर्जा दशककोरुपमा आफ्नो काम अगाडि बढाएको भन्दै यसै आर्थिक वर्षमा देश विद्युत्मा आत्मनिर्भर हुने दाबी गर्नुभयो । लामो प्रयास र मिहिनेतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी १० वर्षपछि नेपाललाई दक्षिण एसियाकै ‘पावरहाउस’कोरुपमा स्थापित गर्ने योजनामा सरकार अगाडि बढेको जानकारी दिनुभयो । यो आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान रहेको बताइएको छ । अनुमानित लागत १२ अर्ब ६० करोड रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू