अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

अमेरिकी र दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:४६ मा प्रकाशित

संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाई छ ।

उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्र स्वरुप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुबै मुलुकलाई स्वीकार्य स्पष्ट योजना सहित अघि आउन आग्रह गरिआएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच सिंगापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो ।

अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिनुभयो । थाइल्याण्डको राजधानी बैंककमा एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबलमा चाँडै आउने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।

उहाँले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाईले दुबै मुलुकका कुटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने उल्लेख गर्नुभयो । स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुबै मुलुकबीचको वार्ता एकाएक भङ्ग भएको थियो । वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू