अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

आउ हामी एक अर्कालाई सम्मान गरौँ

राजु सिटौला

राजु सिटौला २०७६ मंसिर १ गते २०:३१ मा प्रकाशित

हो साथी,
आऊ हामी एक अर्कालाई सम्मान गरौँ,
तिमी मलाई प्रमुख अतिथि बनाएर कार्यक्रममा बोलाऊ,
म धेरै होइन…. मात्र १ घण्टा ढिलो गरी आउनेछु ।
गुनासो गर्नेहरू गरिरहुन्,
ढिलो गरी आउनु त नेपालीको पहिचान नै हो ।
फेरि ढिलो नगरी समयमै आउने अतिथिको केको मान भो ?
अनि सबैको अगाडि मञ्चमा लगेर आसन ग्रहण गराऊ
सबै सँगै बस्नु परे केको मान भो ?
फूलमाला पहिराएर र अबिर लगाएर मलाई भव्य स्वागत गर,
दोसल्ला, खादा अनि सम्मान पत्रले अभिनन्दन गर ।
तर याद गर है,
सम्मान पत्रमा ‘वरिष्ठ’ शब्द लेख्न नछुटाउनु ।
वरिष्ठै नलेखिए केको मान भो ?
तिमी मलाई सम्मान पत्र दिन्छौ,
म त्यो सम्मान पत्र मेरो बैठक कोठामा सजाएर राख्छु ।
अनि तिम्रो नाम सबैले पढ्ने छन् ।
हेर त कति राम्रो हुन्छ ?
मेरो पनि सम्मान हुन्छ तिम्रो पनि नाम हुन्छ ।

अनि पठाइदेऊ सम्मानको समाचार
च्याउ झैँ उम्रिएका ती नेपाली अनलाइन साइटहरूमा,
अनि हरेक नेपाली फेसबुके ग्रुपहरूमा ।
तर तिनीहरूलाई सावधान गराऊ है
हाम्रो फोटो स्पष्ट, ठुलो र राम्रो हुनुपर्छ,
वेबसाइटको छेउछाउमा होइन, वेबसाइटको बिचमा हुनुपर्छ ।
कति वेबसाइटले त ‘वर्षका टप टेन नेपाली’ भनेर पनि नाम निकाल्छन् रे नि,
ती मध्ये कुनै एउटा वेबसाइटलाई मेरो पनि नाम टप टेनमा हाल्दिनु भन्देऊ ।
बरु मेरो एक जना साथी छ,
धन दौलतको मामलामा उ धेरै माथि छ ।
उसको नाममा एउटा पुरस्कार राखिदेऊ,
लगानी उसले गर्छ, पुरस्कार चाहिँ मलाई देऊ ।
तिमी पनि त ठुलो मान्छे बन्छौ साथी,
कसलाई सम्मान पत्र दिने, कसलाई पुरस्कार दिने भनेर निर्णय गर्ने लाइसेन्स प्राप्त गर्छौ ।
हेर त कति राम्रो हुन्छ साथी ।
उसको पनि, मेरो पनि, तिम्रो पनि हामी सबैको नाम हुन्छ,
हामी सबैको सम्मान हुन्छ ।

एक दुई जना उपब्रुजुकहरुले यस्तो पनि भनेको सुने,
देवकोटा धेरै सम्मान पत्र पाएर, धेरै दोसल्ला र खादा लगाएर
महाकवि भएका हुन् र ?
यी मूर्खहरूलाई के थाहा र साथी ?
आजको जमाना त्यस्को हो
जसको पहुँच मिडियामा छ,
जसलाई बुई बोक्ने संस्थाहरू छन् ।
नत्र त यहाँ कसले कस्लाई पो चिन्छ र ?
चाहे कसैले मुनामदन लेखोस्
चाहे कसैले शाकुन्तल लेखोस्

तर मलाई एउटै पिर छ साथी
यी मैले थुपारेका मानसम्मानहरु
मेरो मृत्यु पछि हराएर जाने त होइनन्
अबको १०० वर्ष पछि, अबको २०० वर्ष पछि, अबको १००० वर्ष पछि,
म मेरो नाम कसरी अमर गर्न सकुँला ?
कि सगरमाथाको टुप्पोमा कतै मेरो नाम खोपाई पो दिऊँ कि ?
तर करोडौँ वर्षपछि एक दिन त्यो पनि खिइएर समुन्द्रमा मिल्ने छ ।
आ SS भइगो छोडिदेऊ यो भविष्यको चिन्ता
बरु छिटो एउटा कार्यक्रम गर र मलाई प्रमुख अतिथि बनाएर बोलाऊ
अनि हेर त कति राम्रो हुन्छ !
मेरो पनि सम्मान हुन्छ तिम्रो पनि नाम हुन्छ ।