अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

कार्पेट

प्रेम संग्रौला २०७६ कार्तिक ३० गते २३:३१ मा प्रकाशित

वर्षौ वर्ष देखी
हजुरको स्वागतमा जीवन ओछ्याएर
हजुरहरूको पैताला नविझाओस भनेर
बरु आफै घोप्टो चेप्टो परेर
हजुरको गाथमा आराम होस भनेर
छाती वा पिठ्युँमा जुत्ताले टेक्दा पनि
क्mतैपनि असजिलो नहोस् भनेर
असीम आनन्दमा मस्त निदाए जस्तै भएर
सुतेको छु म कार्पेट बनेर ।

मेरो काम हजुरको पाउमा सेवा गर्नु हो
हजुरहरूको पैतालालाई शिरोपर गर्नु हो
हजुरको लागि
लडिदिन सक्छु यसै गरी लम्पसार भएर
काट्न सक्छु जुनी यसै गरी सोत्तर बनेर
हजुरको आराम मेरो जीवनको अभिलाषा
हजुरको खुसी मेरो अन्तरात्माको आवाज ।

मलाई कुल्चे पनि हुन्छ
म माथि बसे पनि हुन्छ
सुते पनि हुन्छ, लडिबडी खेले हुन्छ
जे गर्न मन लाग्छ आरामसँग गरे हुन्छ
हजुरको गाथमा कुनै दुख नहोस्
कम्तीमा मेरो लागि फिक्री नगर्नुहोस्
म त हजारौँ हजार वर्ष देखी
बानी परेको छु सहने
निस्फिक्री सहिदिन्छु
ढल्नु नै जीवनको पर्याय बनेपछि
तराईको फाँट सुते जस्तै
सुतेको बहानामा जीवन भरी सुती दिन्छु ।

सहेको छु मैले
मेरो ढाडमा बज्रने
बुट जुत्ताका काँटीहरू
मेरो छाती माथि खेलिने परेडहरू
चिसोमा कठांग्रिएको छु
हजुरको न्यानो रातको लागि
म सिमेन्ट माथि सुतेको छु
ढुङ्गे गेग्रेनमा लडेको छु
हिलोमा लम्पसार परेको छु
साहेवका जुत्तामा हिलो लाग्न नदिन
म हिलाम्मे भएको छु
लुकाई दिएको छु मेरै छाती मुनी
साहेबका कुरूप अनुहारहरू
बेदाग देखिन चाहने मालिकका
सक्कली कर्तुतहरू
मलाई ओछ्याएर सुकिला देखिन चाहने
पानी माथिका ओभानोहरू ।

जग जाहेर छ
मेरै छाती माथि
मध्यरात सम्म डिजे नाच्नेहरू
ओकल्छन् रक्सीका दुर्गन्धहरू
रङ्गिन रातको आहालमा
बैकका तुजुकहरू देखाएर
उत्पात गर्छन् वेशरमहरु
बूर्कसी मार्छन् मेरो शरीर माथि
हजुरलाई के थाहा
नमातीकन ढल्नु पर्दाको पीडा
म हरेक रात लुटिएको छु
प्याला र बोतलबाट पोखिएको रक्सीले
मानौँ म बेहोस भएको छु
हजुरलाई के थाहा
नसाले नमातिए पनि
वेहोसीको बहाना गर्नुपर्दाको पीडा
चिसोसँग लड्दा लड्दै
आफै च्यातिएर सकिनुपर्दाको पीडा
मेरो सादापनको दुरुपयोग गर्नेहरू
एक एक गरेर चिन्दा चिन्दै
तिन्कै लागि लम्पसार पर्नुपर्दाको पीडा
समयमै विद्रोह गर्न नसकेर
पछुताउनु पर्दाको पीडा
निरीह निरर्थक जिन्दगी जिउनुको पीडा ।

प्रतिक्रिया