अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

सेलिब्रेटी दौड प्रतियोगितामा विजेता बन्न सफल भए विनीता र सुरज

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते २२:४३ मा प्रकाशित

काठमाडौँ: नेपाल चलचित्र कलाकार सङ्घ र कान्ति सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावरणीय स्वच्छता तथा भ्रमण वर्ष २०२० लाई प्रवर्धन सहयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बिच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) भव्यताको साथ सम्पन्न भएको छ ।

सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका विनीता स्याङ्तान विजेता बन्न सफल भएका छन् । त्यसै गरी महिला तर्फ नायिका पवित्रा आचार्य फर्स्ट रनर अप र मोडल अस्मिता जुरेली सेकेन्ड रनर अप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनर अप धनु ज्ञान्मी र सेकेन्ड रनर अप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका विजेताहरूलाई नगद रु. ५०,०००, ३२,०००, र २०,००० सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घका कार्यवाहक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृह मन्त्री माननीय जनार्दन शर्मा, विशेष अतिथिहरूमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, माननीय दीपक निरौला लगायतका विशिष्ट व्यक्तित्वहरू रहेको थिए।

सोही अवसरमा वरिष्ठ गायक तथा समाजसेवी जगत् मर्दन थापा, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, चलचित्र कर्मी नरेन्द्र खड्का, वरिष्ठ हास्य अभिनेत्री लक्ष्मी गिरि, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहाडी, कलाकार लक्ष्मण बस्नेत, वरिष्ठ चलचित्र कर्मी हरिहर शर्मा, महिला उद्यमी लक्ष्मी शर्मा, वरिष्ठ चलचित्र कर्मी स्मारिका श्रेष्ठ र वरिष्ठ बाल रोग विशेषज्ञ डा.शान्त चन्द्र शाक्यलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार सङ्घले पछिल्लो समय कलाकारहरूको हकहितको लागि आवाज उठाउँदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको र अहिले भारतले नेपाल माथि गरेको हस्तक्षेप तथा सीमा विवादलाई तुरुन्त कूटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरूको माग रहेको बताएका छन् ।

आयोजक संस्था कान्ति सांस्कृतिक केन्द्रका अध्यक्ष चन्दन ढकालले कार्यक्रमलाई भव्य तथा सभ्यताको साथ सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कलाकार, मोडल तथा गायक गायिकाहरूलाई धन्यवाद दिएका छन् ।

उक्त अवसरमा कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला, सदस्यहरू नायिका आँचल शर्मा. गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, गीता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, शीतल केसी, जय किशन बस्नेत, गायक सिताराम पोखरेल, मोडल अनिता गिरि, हास्य कलाकार महादेव त्रिपाठी, कलाकार राजु शाही, कलाकार नारायण प्रधान, मोडल रिया श्रेष्ठ, कलाकार तथा निर्मात्री सावित्री चिलवाल लगायतका कलाकार मोडलहरूको बाक्लो उपस्थिति रहेको थियो । हरि शरण लामिछानेले सञ्चालन गरेको कार्यक्रमलाई रिभेल इभेन्ट्सले व्यवस्थापन गरेको थियो भने कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, गायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीले संयोजकत्व गरेका थिए ।

प्रतिक्रिया