अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

जब क्रिकेट मैदानमा भगवान भेटे विनोदले

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते २३:०१ मा प्रकाशित

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार फरक दृश्य देखियो। सधंैजसो विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन व्यस्त रहने त्रिवि क्रिकेट मैदानमा बिहानैदेखि ससाना स्कुले बालबालिकाको चहलपहल थियो। क्रिकेट मैदानका कर्मचारी खेल सुरु गर्न आवश्यक प्रबन्ध मिलाउने चटारोमा देखिन्थे। ठूलो संख्यामा उपस्थित सञ्चारकर्मीको व्यग्रता पनि उस्तै थियो। करिब साढे ९ बजे प्रतीक्षाको घडी समाप्त भयो। कार्यक्रमस्थलमा झुल्किए- सधैं टेलिभिजनको पर्दामा देखिँदै आएका विश्व क्रिकेटकै महान् हस्ती, सचिन रमेश तेन्दुल्कर। अनि क्रिकेट मैदानमा उपस्थित बालबालिकसँगै कार्यक्रम हेर्न पुगेका दर्शक पनि खुसीले चिच्याउन थाले- सचिन, सचिन, सचिन।

खासगरी बालबालिकाका लागि आयोजना गरिएको खेल भए पनि कार्यक्रमका आकर्षण केन्द्र थिए- विश्व क्रिकेटका उनै कीर्तिमानी खेलाडी सचिन। ४६ वर्षीय सचिन कार्यक्रममा सहभागी हुन शुक्रबार राति नेपाल आइपुगेका हुन्। संयुक्त राष्ट्रसंघबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले यो कार्यक्रम आयोजना गरेको हो। महान् भारतीय क्रिकेटर सचिन युनिसेफको दक्षिण एसिया क्षेत्रका सद्भावना राजदूत पनि हुन्।

त्रिवि क्रिकेट मैदानमा तेन्दुलकरले बालबालिकासँग मिलेर क्रिकेट पनि खेले। नेपाली राष्ट्रिय टोलीका थुप्रै पूर्व र वर्तमान खेलाडीका आदर्श हुन्, सचिन। तर, नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गरेको २३ वर्ष लामो इतिहासमा हालसम्म कुनै पनि नेपाली खेलाडीको सचिनसँग क्रिकेट खेल्ने सपना पूरा हुन सकेको छैन। यस्तोमा आफ्नै घरेलु मैदानमा सचिनसँग क्रिकेट खेल्न पाउँदा बालबालिका पनि निकै प्रफुल्ल देखिए। राजधानीका विभिन्न सरकारी विद्यालयबाट छनोट गरिएका ससाना विद्यार्थीलाई दुई टोलीमा विभाजन गरिएको थियो। नीलो टोलीको कप्तानी सचिन र रातो टोलीको कप्तानी विनोद दासले गरेका थिए। विनोद नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्।

दुवै टोलीमा छात्र र छात्रा दुवैलाई समावेश गरिएको थियो। आठ÷आठ ओभरमा खेलाइएको खेलमा सचिनको टोलीले टस जितेर विनोदको टोलीलाई पहिले ब्याटिङका लागि निम्तो दियो। विनोदको टोलीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै ४५ रन बनायो। सुरुमा विकेट किपरको भूमिकामा देखा परेका सचिनले एक ओभर बलिङ पनि गरे।

आफैंले फिल्डिङ सजाएका सचिनले बालबालिकालाई ब्याटिङ र बलिङ गर्ने कला पनि सिकाए। भर्खरै क्रिकेटको कखरा सिक्दै गरेका बालबालिकालाई सचिनले खेल अवधिभर हौस्याइरहे। बेलाबेलामा उनी खेल हेर्न उपस्थित दर्शकलाई पनि हात हल्लाएर अभिवादन गर्थे। जवाफी ब्याटिङमा ओर्लिएको सचिनको टोलीले ६ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पूरा ग¥यो।

सचिन ओपनर ब्याट्सम्यानकै रूपमा मैदानभित्र प्रवेश गरेका थिए। सचिन दुई ओभर ब्याटिङ गरेर अन्य ब्याट्सम्यानलाई मौका दिन क्रिजबाट बाहिरिएका थिए। आफ्नो अन्तिम बलमा चौका हिर्काएका सचिनले सात रन बनाए। खेलमा सचिनको टोली नौ विकेटले विजयी भए पनि बालबालिकाका लागि खेलिएको सन्देशमूलक खेल भएकाले दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरियो। दुवै टोलीलाई ट्रफी पनि प्रदान गरियो।

सचिनले नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि विभिन्न सुझाव दिए। सचिनले कीर्तिपुर मैदानमै सागको अन्तिम तयारीमा रहेको महिला टोलीका खेलाडीको हौसला पनि बढाए। उनले नेपाली महिला टोलीले राम्रो प्रदर्शन गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो आत्मविश्वास लिएर खेल्न सुझाव दिए।

सचिनले नेपाल आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। सचिनले नेपाल बालबालिकासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने महŒवपूर्ण राष्ट्र भएको बताउँदै विगतको तुलनामा बालबालिकाको अवस्थामा सुधार आउँदै गएकोमा खुसी पनि व्यक्त गरे। उनले आफ्ना बालबालिकालाई के बनाउने भन्दा पनि बालबालिका आफू के बन्न चाहन्छन् भनेर उनीहरूको रुचि बुझ्न अभिभावकहरूलाई सुझाव पनि दिए।

कार्यक्रममा सचिनले आफ्नो बाल्यकालको स्मरण पनि गरे। उनले आफू सानो छँदा क्रिकेट ब्याट बोकेर शिवाजी पार्क धाउँदाको क्षण, स्कुलबाट फर्कंदा टिफिन बक्समा भ्यागुतो राखेर आमालाई तर्साउँदाको क्षण अनि आफ्नो गल्तीमा बुवाआमाले माया गरेर सम्झाउँदाको तीतामीठा अनुभव पनि सुनाए। आफ्ना अभिभावकले बाल्यकालमा आफूलाई क्रिकेट खेल्न जाँदा कुनै रोकटोक नगरी आफ्नो रुचि बुझेको उनले बताए। ‘अभिभावकले बालबालिका के गर्न चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ’, कार्यक्रममा सचिनले भने, ‘मेरो अभिभावकले बाल्यकालमा क्रिकेट खेल्न जाँदा मलाई त्यो खेल नखेल भन्नुभएको भए आज म यहाँ पुग्ने थिइनँ।’

पुरस्कार वितरण समारोहमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोदले सचिनसँग क्रिकेट खेल्न पाउँदा आफू भावुक बनेको बताए। ‘सचिनसँग क्रिकेट खेल्न पाउनु मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो। त्रिवि क्रिकेट मैदान हाम्रो मन्दिर हो र सचिन क्रिकेटका भगवान् हुन्। आज क्रिकेटको मन्दिरमा भगवान्सँग मेरो भेट भएको छ’, विनोदले भने, ‘मेरो स्मरणमा यो क्षण सधंै जीवित रहने छ।’

सन् २०१३ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिएका सचिनको नाममा अझै पनि विश्व क्रिकेटका थुप्रै कीर्तिमान कायमै छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी हुन्। उनले टेस्टमा ५१ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक हिर्काएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान पनि सचिनकै नाममा छ। उनले टेस्टमा १५ हजार नौ सय २१ र एकदिवसीयमा १८ हजार चार सय २६ रन बनाएका छन्।

यसैगरी उनी सर्वाधिक विश्वकप खेल्ने खेलाडी पनि हुन्। सचिन र पाकिस्तानका जाभेद मियाँदादले ६ वटा विश्वकप खेलेका छन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक प्लेयर अफ दी सिरिज हुने खेलाडी पनि सचिन नै हुन्। उनी १५ पटक प्लेयर अफ दी सिरिज घोषित भएका छन्। उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन्। उनी एउटै विश्वकपमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी पनि हुन्। सचिन र बंगलादेशका सकिब अल हसनले एउटै विश्वकपमा सात अर्धशतक हिर्काएका छन्।

यसैगरी एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ। उनले सन् २००३ को विश्वकपमा ११ पालि खेल्दै कुल ६ सय ७४ रन बनाएका थिए। एउटै विश्वकपमा सर्वाधिक चौका हिर्काउने खेलाडी पनि हुन्, सचिन। उनले सन् २००३ कै विश्वकपमा ७५ वटा चौका हिर्काएका थिए। विश्वकपमा सर्वाधिक (१५ वटा) अर्धशतक बनाउने खेलाडी पनि सचिन नै हुन्। यसदेखि बाहेक पनि विश्व क्रिकेटमा थुप्रै कीर्तिमान सचिनको नाममा छ।

त्रिवि क्रिकेट मैदानमा भलाकुसारी गर्दै सचिन तेन्दुल्कर र विनोद दास । तस्बिर : दीपेन श्रेष्ठ

(अन्नपूर्ण पोस्टबाट)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू