अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 21:41

कर्मचारी कल्याण कोषको ४० औँ वर्षगाँठ कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते २२:३६ मा प्रकाशित

नेपाल रेडक्रसको कर्मचारी कल्याण कोषले आफ्नो ४० औँ वर्षगाँठ कार्यक्रम तथा वार्षिक साधारण सभा कार्यक्रम आज बिहीबार कालीमाटी, काठमाडौँमा सम्पन्न गरेको छ । आगामी आ.वको लागि ११ लाख ६१ हजार साधारण तर्फ तथा अनुमानित २ करोड रुपैयाँ आपत्कालीन अवस्थामा रिन सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।

विपत्तिको अवस्थामा सहयोग पु¥याउन तथा सामाजिक आर्थिक सहयोगको लागि २०३६ साल साउनमा नेरेसोका कर्मचारीबिच पारस्परिक सहयोगको लागि बचत अभियान स्वरूप कोषको स्थापना गरिएको थियो ।

कार्यक्रममा कल्याण कोषको स्थापना र विकासमा सहयोग पुर्‍याउने र उत्प्रेरणात्मक सहभागिता जनाउनेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त, पूर्व उप कार्यकारी निर्देशक इन्द्र बहादुर केसी तथा उत्प्रेरणात्मक नृत्य तर्फ रामकृष्ण शर्मा हुनुहुन्छ ।

कोषका सचिव पदमनाथ आचार्यले कार्यक्रम सञ्चालन गर्दै प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने कोषाध्यक्ष केदार बरालले कोषको कारोबार र आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कोषका संस्थापक तीर्थराज वन्तले ४० वर्षको ऐतिहासिक घटना चर्चा गर्नुभएको थियो ।

नेरेसोका अध्यक्ष सञ्जीव थापाले कोषमा सबै कर्मचारीको अपनत्व हुने गरी अघि बढ्न अनुरोध गर्दै कोषलाई अझ क्रियाशील बनाई र उत्पादनशीलतातर्फ लैजान सुझाव दिनुभयो । महामन्त्री देव रत्न धाख्वाले कार्यक्रमको समुद्घाटन गर्दै नेरेसोले समुदाय, परिवार र व्यक्तिहरूलाई आफ्नो समस्या आफै समाधान गर्ने अवस्थामा पुर्‍याउन सहयोग गरिरहेको र कोषले पनि कर्मचारीहरूको अभाव, आकस्मिकतामा सघाऊ पुर्‍याइरहेको धारणा व्यक्त गर्नुभयो ।

कोषका अध्यक्ष डाक्टर प्रकाश कुमार यादवको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका प्रतिनिधि प्रदीप मित्तल, नेपाल रेडक्रस सोसाइटीका उप महामन्त्री हरिप्रसाद न्यौपाने, निमित्त कार्यकारी निर्देशक मनिता राजकर्णिकार, साझेदार सोसाइटीका प्रतिनिधिहरू र रेडक्रस केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

२ रुपैयाँबाट सुरु भई २ करोडको कोष
रेडक्रस कर्मचारी कल्याण कोषका सदस्यहरूबिच पारस्परिक सहयोगको आधारमा विपत्तिको अवस्थामा सहयोग पुर्‍याउन तथा अन्य अवस्थामा सामाजिक तथा आर्थिक स्थिति सुधारको लागि कार्यक्रमहरू सञ्चालन गर्न २०३६ साल साउन देखि रेडक्रसका सहयोगी कर्मचारीबाट २ रुपैयाँ र अधिकृत स्तरका कर्मचारीबाट ५ रुपैयाँ र मासिक उठाई सुरु गरिएको कल्याण कोषमा अहिले १ करोड ९६ लाख रुपैयाँ रहेको र कल्याणकारी कार्य सञ्चालन गरिएको सञ्चालक समितिका निवर्तमान अध्यक्ष दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

कोषका सदस्य बाबुराजा बोहराले भन्नुभयो: हृदयाघातको समस्या र मृगौला फेर्न पर्ने अवस्थामा २०६६ सालमा जीवनको आस मैले मारिसकेको थिएँ तर कोषले आपसी सहयोग मार्फत ५ लाख रुपैयाँ उपलब्ध गरायो र उपचारप्रति सकारात्मक हुन उत्प्रेरित गरेकैले मैले पुनर्जीवन प्राप्त गरेको हुँ ।

४० वर्ष अघि पियन कर्मचारीलाई चस्मा किन्न सहयोगबाट सुरु गरिएको कोषको गतिविधिमा चस्मा अनुदानलाई अहिले पनि निरन्तरता दिएको छ । त्यस्तै, कोषमार्फत शैक्षिक प्रोत्साहन पुरस्कार, खेलकुद प्रतियोगिता, प्रसूति सहयोग, असाध्य रोगबाट पीडितलाई नगद सहयोग हुँदै आएको छ । २०७२ सालको भूकम्पबाट अति पीडित कर्मचारीहरूलाई कोषले एक लाख एघार हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू