अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 22:20

चुनाव जितेलगत्तै बिद्या भट्टराईलाई मन्त्री बनाउने घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:४८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेर मन्त्री बन्ने क्षमता भएको उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभएको छ । निर्वाचन परिचालन कमिटी वडा नं ११ ले आज आयोजना गरेको चुनावी प्रचार तथा घरदैलोअन्तर्गत आयोजित कोणसभामा उहाँले नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी निर्वाचन जितेपछि मन्त्री बन्ने भएकाले विकासका लागि उहाँलाई मत दिन आग्रह गर्नुभयो ।

तीन वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन नसक्ने तर नेकपाले सक्ने उल्लेख गर्दै उहाँले त्यस्तो उम्मेदवारलाई जिताएर आफ्नो ठाउँको विकास गर्न मतदाताहरुलाई आग्ह गर्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका नेता अधिकारीले वर्तमान सरकारले भूमिहीन, दलित तथा सुकुम्वासीलाई लालपुर्जा दिने कानून बनाउनका लागि नेकपाको विजयको विकल्प नभएको उल्लेख गर्नुभयो ।

आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्व रवीन्द्र अधिकारीका बाँकी रहेका अभिभारा र प्रतिबद्धतालाई आफूले हुबहु पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताले अघिल्लो निर्वाचनमा पाँच वर्षका लागि अभिमत दिए पनि अकल्पनीय घटनाबाट पुनः चुनावमा आउनुपरेको भन्दै उहाँले आम पोखरेली जनताको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको स्पष्ट पार्नुभयो ।

गोर्खा मेजर चन्द्रबहादुर पुनले वर्तमान सरकार आएपछि मात्र देशले विकासको लय समातेको बताउँदै वृद्धवृृद्धा, असहाय र अशक्तलाई हेर्ने पार्टीलाई जिताउन आग्रह गर्नुभएको थियो । घरदैलोअन्तर्गत नेकपाका नेता कार्यकर्ताले वडाका फूलबारी, मणिपाल, धरहरामार्गअन्तर्गतका टोलहरुमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू