अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

समाजवादी पार्टीले सरकार नछाड्ने

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:४९ मा प्रकाशित

सत्तारुढ दलको एक घटक समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंमा बसेको संघीय परिषद् बैठक तथा शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकमा अधिकांश सहभागीहरुले संविधान संशोधनप्रति सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सकारात्मक नभएकाले तत्काल सरकार छाड्नुपर्ने धारणा राखेका थिए । उनीहरुले सरकारबाट बाहिरिएर संविधान संशोधनका लागि सडक आन्दोलनमा जानुपर्ने मत राखेका थिए ।

तर, संघीय परिषद् र केन्द्रीय समितिका अधिकांश सदस्यको धारणाविपरीत पार्टी सरकार नछाड्ने निष्कर्षमा पुगेको छ । समाजवादी पार्टी राजनीतिक समितिका सदस्य शिवजी यादवले प्राप्त उपलब्धि जोगाउन पनि पार्टी सरकारबाट बाहिरिन नहुने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । पार्टीका केन्द्रीय समिति अध्यक्ष एवं समाजवादी पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपेन्द्र यादवलगायतका नेताहरु सरकारबाट बाहिरिन नहुने अडानमा रहनुभएको छ ।

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु सरकारबाट बाहिरिनुपर्ने पक्षमा रहेपनि बिहीबारको परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले सरकारबाट बाहिरिने विषयमा मध्यमार्गी बाटो लिनुभएको थियो । समाजवादीले तत्काल सरकार नछाड्ने लाइन लिएपछि राजपासँगको पार्टी एकता तत्कालका लागि स्थगित हुने सम्भावना छ ।

राजपाले दुई पार्टी एकताका लागि सरकारबाट बर्हिगमन प्रमुख शर्त राखेको छ । समाजवादी पार्टीसँग पार्टी एकताको प्रयास भइरहेको भन्दै राजपाले आफ्नो महाधिवेशन नै स्थगित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू