अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

१३ औं दक्षिण एसियाली खेलकुद – अध्यागमनमा बाजासहित स्वागत गर्न निषेध

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:२० मा प्रकाशित

गृह मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिन आउने खेलाडी र पदाधिकारीसहितका विदेशीलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन आगमन कक्षमा बाजागाजा र फूलमालासहित स्वागत गर्न रोक लगाएको छ । सुरक्षा र नियमित यात्रु व्यवस्थापनमा नकारात्मक असर पर्ने भएकाले स्वागत सत्कारको कार्यक्रम विमानस्थल क्षेत्रबाहिर मिलाउन निर्देशन दिइएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले गत साता विमानस्थलस्थित सुरक्षा निकाय, अध्यागमन, भन्सार, नागरिक उड्ययन प्राधिकरणलगायत सबै सरोकारवाला निकायसम्मिलित बैठकमा सागमा आउने विदेशी पाहुनालाई अध्यागमन कार्यालय परिसरमै स्वागत गर्ने व्यवस्था मिलाइदिन प्रस्ताव गरेको थियो । तर विमानस्थल अध्यागमन कार्यालयले अति संवेदनशील क्षेत्रभित्र बाजागाजा र फूलमालासहितको स्वागत गर्न नमिल्ने भन्दै वैकल्पिक उपाय अपनाउन मन्त्रालयका पदाधिकारीलाई आग्रह गरेको थियो ।

सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा भने विमानस्थलस्थित अध्यागमन कार्यालयमै बाजागाजासहित स्वागत व्यवस्था मिलाइएको थियो । खेलकुद मन्त्रालयले नेपाल प्रहरीका पूर्व एआईजी अमरसिंह शाहको संयोजकत्वमा ६ सदस्यीय अतिथि सत्कार समिति गठन गरिसकेको छ । साग सम्पन्न गर्न अतिथि र सुरक्षासहित अरु १५ विषयगत समिति गठन भइसकेका छन् । विषयगत समितिबाहेक प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, खेलकुदमन्त्रीको अध्यक्षतामा आयोजक समिति र राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालको संयोजकत्वमा कार्यकारी समिति गठन भइसकेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले मंसिर १५ देखि २४ सम्म हुने सागमा सार्कका नेपालबाहेक ६ मुलुकका खेलाडी र पदाधिकारीसहित ६ हजार जति पाहुना आउने जानकारी गराएको छ । गृह मन्त्रालय र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई खेलकुद मन्त्रालयले खेलाडी, पदाधिकारी, प्रशिक्षक, समर्थक तथा खेलाडीका परिवारसहित ६ हजार जति विदेशी आउने जानकारी दिएको छ । त्यसमध्ये ४ हजार हाराहारीमा खेलाडी हुनेछन् ।

सागमा आउने विदेशी पाहुनालाई अध्यागमनको कानुनी प्रक्रिया सहज र सरल बनाउन गृह मन्त्रालयले आगमन र प्रस्थान कक्षमा १–१ वटा विशेष डेस्क सञ्चालनमा ल्याउने भएको छ । साग सुरक्षालाई प्रभावकारी र व्यवस्थित गर्न युवा तथा खेलकुद मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको संयोजकत्वमा सुरक्षा समिति गठन गरेको छ । काठमाडौं, ललितपुर, कास्की र धनुषाका खेलस्थलमा साग हुने तालिका छ ।

प्रतिक्रिया