अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

नेपाली सीमा नमिचेको चीनको स्पष्टोक्ति, भारतसंगको विवाद टुंग्याउन सुझाव

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:२८ मा प्रकाशित

उत्तरी छिमेकी चीनले नेपाली सीमा कहिंकतै नमिचेको स्पष्ट पारेको छ । पछिल्लो समय नेपाली भूमिलाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले आफुले सीमा नमिचेको प्रतिक्रिया दिएको हो ।

बिहीबार पत्रकारसँग कुरा गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने सुझाव दिनुभयो । चीनले पनि नेपाली भूमि मिचेको भनी पत्रकारहरुले सोधेको प्रश्नको वाफमा दूतावासका प्रवक्ताले यस्तो बताउनुभएको हो । कालापानी क्षेत्रको विवाद मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याऊन् भन्ने चीनको चाहना रहेको उहाको भनाई थियो ।

चीनले सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्ने उल्लेख गर्दै प्रवक्ता सिओयोलोङले केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको आफुहरुले पनि सुनेको उल्लेख गर्दै यस्ता आरोप आधारहीन रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपाल र चीनले सन् २०६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको बताउनुभयो ।

यसअघि, सोमबार संसदको राज्यव्यवस्था समितिमा नेपाली कांग्रेसका सांसदद्वय अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि नेपाली सीमा मिचेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू