अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

बङ्गलादेशका राष्ट्रपति हमिदद्धारा पोखरा भ्रमण, फेवातालमा डुंगा शयर

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:०८ मा प्रकाशित

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । हमिदको पोखरा भ्रमणलाई लक्षित गर्दै आज फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको थियो ।

दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहेको थियो ।

दिवाभोज पछि राष्ट्रपति हमिदले रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद पोखरा आउनुभएको हो । उहाँ काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा आउनुभएको थियो ।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वागत गर्नुभएको थियो । हमिद आजै काठमाण्डौं फर्कनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू