अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

कास्की क्षेत्र नं २ उपनिर्वाचनः नेकपा उम्मेद्वार बिद्या भट्टराईको घरदैलो अभियान तिव्र

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:३७ मा प्रकाशित

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुन गईरहेको उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले घरदैलो अभियानलाई तीव्रता दिएको छ । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ को नेकपाकी उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको हो । माल्यार्पणपछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विकासको लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको बताउनुभयो । चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं ९ का विभिन्न ठाउँमा कार्यक्रमहरु सम्पन्न भएका छन् ।

यसैबीच, पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी गण्डकी प्रदेशका सह–ईन्चार्ज खगराज अधिकारीले समृद्दिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील गर्नुभएको छ । नेता अधिकारीले सम्पूर्ण श्रमजीवि र भूमिहिनहरुलाई समेटेर अघि बढ्ने नेकपा बाहेक विकल्प नभएको दावी गर्नुभयो । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू