अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

देशभर चिसो बढ्यो

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:३० मा प्रकाशित

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै मंगलवार बढी चिसो महशुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ ।

‘सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसूस गरिएको छ, दिउँसोपख घाम लागेपनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,’ मौसमविद् श्रेष्ठले भन्नुभयो । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव ० डिग्री सेल्सियस रहेको छ । मंगलवार सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू