अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

आलमका मान्छे बयान फेर्न बाध्य बनाएको खुलासा

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:१८ मा प्रकाशित

राजपुर बम काण्ड मुद्दाका आरोपी मोहम्मद आफताब आलमको पक्षमा आज दोश्रो दिन पनि बहस भएको छ । सांसद आलमको पक्षमा हिजैदेखी जिल्ला अदालत रौतहटमा बहस भइरहेको छ । सोमबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस सुरू गरेका छन् । आलमको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेर बहादुर केसी लगायत ३४ जनाभन्दा बढी कानुन व्यावसायी बहस गर्ने जनाईएको छ । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटन भण्डारणको आरोपमा मुद्दा चलिरहेको छ । आलम पक्षका वकिलहरुले उनको बचाउ गरेका छन् । आलम विरुद्ध कुनै ठोस प्रमाण नरहेको र आलम निर्दोष रहेको आलम पक्षका वकिलको तर्क रहेको छ ।

यसैबीच पिडितहरुले बयान फेर्न थालेपछि घटनाले अर्कै मोड लिएको छ । अहिलेसम्म बम बिस्फोटमा परेर घाईते भएका भारत घर भएका गौरीशंकर चमार सहित दुई जनाले आफ्ना बयान फिर्ता लिएका छन् । दुई दिनअघि आलम पक्षका मान्छेले १० कठा खेत दिने प्रलोभन दिएर एक जनालाई बयान फेर्न लगाएको घटना सेलाउन नपाउँदै फेरी एक जना पिडितले आलमका मान्छे अपहरण गरेर आफुलाई बयान फेर्न बाध्य बनाएको खुलासा गरेका छन् ।

२०६४ साल चैत्र २७ गते राजपुरमा भएको बम बिस्फोटको घाईते एवं प्रत्यक्षदर्शी भारत घर भएका गौरी शंकर राम चमारले मोहम्मद अफताब आलमका व्यक्तिको दवाबका कारण आफुले बयान फेर्न बाध्य भएको खुलासा गरेका छन् । आलमका केहि मान्छेले आफुलाई बयान नफेरे ठिक नहुने धम्की दिएर बयान फेर्न लगाएको चमारले बताउनुभयो । बयान फेर्न आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताउनुभयो । त्यही कागज अदालतमा बुझाएको उहाँले बताउनुभयो ।

राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारलाई सीतामढीबाटै अपहरण गरिएको खुलासा भएको छ । गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण उल्लेख छ । आलम पक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै जिउ ज्यानको सुरक्षा गरिदिन पनि उहाँले आग्रह गर्नुभएको थियो । चमारले सुरक्षाको माग गरेलगत्तै रौतहट प्रहरीले उहाँलाई सुरक्षा दिएर राखेको छ । २०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता मोहमद अफताव आलम पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू