अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

गृहमन्त्री थापा र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ७:०६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका चीनका आपतकालिन व्यवस्थापन मन्त्रालयका उपमन्त्री झेङ ग्वोग्ङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले गत महिना चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापन सम्बन्धी दुई देशबीच सम्झौता भएको स्मरण गर्दैे सम्झौता कार्यान्वयनको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो । प्राकृतिक विपद्का घटना दुवै देशको साझा समस्या रहेको भन्दै अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफूहरुले गरेको बताउनुभयो ।

भेटवार्तामा उपमन्त्री ग्वोग्ङले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल–चीनबीच सहकार्यमा जोड दिँदै विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाईने जानकारी दिनुभयो । उहाँले केही समयपछि विपद् व्यवस्थापन सम्बन्धी मन्त्रीस्तरीय सम्मेलन चीनमा आयोजना हुन लागिरहेको जानकारी दिँदै सम्मेलनमा उपस्थितिका लागि गृहमन्त्री थापालाई निम्ता पनि दिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू