अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

अस्ट्रेलियामा डढेलोका कारण आपत्कालिन अवस्था घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:३१ मा प्रकाशित

विगत केही दिनदेखि अस्ट्रेलियाको न्यूसाउथवेल्स तथा क्वीन्सल्याण्ड राज्यका विभिन्न क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आउन नसकेपछि आपत्काल घोषणा गरिएको छ । न्यूसाउथवेल्स राज्यमा मात्रै ६४ स्थानमा डढेलो लागेको थियो जसमध्ये ४० वटा स्थानको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले सो अवस्थालाई मध्यनजर गर्दै आपतकालीन अवस्था घोषणा गर्नुभएको छ ।

यो घोषणासँगै ‘रुरल फायर सर्भिस’का कमिस्नर शेन फिजसिमोन्सलाई अग्नि नियन्त्रणका लागि आपतकालीन अधिकार प्रदान गर्नेछ। केही दिनदेखि लागेको डढेलोले न्यूसाउथवेल्स राज्यमा करिब ९ लाख ७० हजार हेक्टर क्षेत्रलाई प्रभावित गरेको छ भने करिब २ सय घरलाई नष्ट गरेको छ। डढेलोबाट ३ जनाको मृत्यु समेत भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। आगलागीका कारण मंगलबार न्यूसाउथवेल्सको तापक्रम अधिक रहने तथा हावा पनि चल्ने हुनाले अधिकारीहरूले सबैलाई शतर्क रहन आग्रह समेत गरेका छन्।

त्यसैगरी क्वीन्सल्याण्ड राज्यमा ५० वटा स्थानमा डढेलो लागे पनि अग्निनियन्त्रकहरू मानिसहरूको वस्ती भएका तीन क्षेत्रमा डढेलो नियन्त्रण गर्न लागिपरेको बताइएको छ। सो राज्यमा अहिलेसम्म ९ वटा घरहरू क्षतिग्रस्त भएका छन् भने ४२ वटा स्थानीय क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । क्वीन्सल्याण्ड राज्यकी प्रिमियर एनेस्टेसिया पालास्जकले अधिकारीहरूले स्थानीयवासीलाई घर छोड्न आदेश दिए भने त्यसका लागि सबै वासिन्दा तयार रहनुपर्ने बताउनुभएको छ ।

न्यूसाउथवेल्स राज्यका करिब ५ सय विद्यालयहरू मंगलबार बन्द रहने अधिकारीहरूले जनाएका छन्। मंगलबार तापक्रम अत्यधिक रहने तथा हावा समेत चल्ने हुनाले डढेलोको अत्यधिक खतरा रहेकाले विद्यालयहरु समेत बन्द गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू