अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

नेपालमा समाजवादको सम्भाव्यतामाथि बहस

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:२३ मा प्रकाशित

नेपालमा समाजवादको सम्भाव्यताबारे राजधानीमा एक बहस सम्पन्न भएको छ । फाउण्डेशन फर क्रिटिकल डिस्कोर्श नेपालको आयोजनामा गरिएको विमर्श कार्यक्रममा सरोकारवालाहरुले नेपालमा समाजवादको सम्भाव्यताबारे अन्तरक्रियात्मक छलफल गरेका हुन् ।

कार्यक्रममा नेपालमा सम्भाव्यताबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अभिभावकले सन्तानलाई जग्गाको अंशबन्डा गर्ने कुरा अल्झिएको उदाहरण दिँदै आजका कम्युनिष्ट स्वयंमा प्रगतिशील छन् वा छैनन् ? भन्ने गम्भीर प्रश्न उब्जिएको बताउनुभयो । पुँजीवादीहरुले समेत आफै कमाइ खाने बाटो अपनाएका छन् भने हामी कम्युनिष्ट भनिएकाहरु नै पैत्रिक जमिनको आशा गर्ने गरिरहेको उल्लेख गर्दै पाण्डेले वितरण प्रणाली सही भए समाजवादमा जान सहज हुने प्रष्ट पार्नुभयो ।

पश्चिमी लोकतन्त्र, पश्चिमी पूँजिवादी क्रान्ति, म्याग्नाकार्टा, फ्रान्सेली गणतन्त्र र अमेरिका स्वतन्त्रता भन्दा पनि नेपालको लोकतान्त्रिक गणतन्त्र ति सबैको विस्तृतिकरण भएको र ति सबैभन्दा धेरै अगाडि रहेको पाण्डेको भनाइ छ ।

कार्यक्रममा समाजवाद उन्मुखता, शिक्षा र स्वास्थ्य विषयमा आफनो कार्यपत्र प्रस्तुत गर्नुभएका डा. सरोज धितालले नेपालका साम्यवादी खेमामा आएको विभाजनका कारण समाजवादबारे अन्यौलता बढेको दृष्टिकोण राख्नुभयो । कम्युनिष्ट र प्रजातान्त्रिक समाजवादीबीच उनीहरुले भन्ने गरेको समाजवाद र वास्तविक समाजवादबारे पहिलेदेखि नै विवाद रहेको बताउनु हुँदै धितालले कुनै पनि समाज साँच्चिकैको समाजवादी हो वा होइन भनेर छुट्याउने कुनै सर्व्स्विकार्य मापदण्ड नहुने प्रष्ट पार्नुभयो ।

सोही कार्यक्रममा अन्तराष्ट्रिय संस्थाहरु र समाजवादको लक्ष्यमाथि कार्यपत्र प्रस्तुत गर्दै नेकपाका नेता तथा प्रतिनिधिसभा सांसद डा. दिपकप्रकाश भट्टले समाजवादमा जान समााजिक पुँजिवादमा जोड दिइनुपर्ने, उत्पादन प्रणाली विस्तारित गर्नुपर्ने र रोजगार सिर्जना गर्ने दिशामा राज्य केन्द्रित हुनुपर्ने दृष्टिकोण राख्नुभयो ।

विगतमा ६० देखि ७० प्रतिशत जीडिपी भारत र चीनको हातमा रहेको, अमेरिकाले साइलेन्ट लिग अफ नेशन बनाएर विश्वव्यापि हस्तक्षेप गरिरहेको र पहिलो विश्व युद्धमा अत्याधिक सर्वसाधारण मानिसहरु मारिएपछि १९४८ मा सिमाको अवधारणा स्वीकार गर्नुपर्ने परिस्थीति आउँदा सोही सन्दर्भमा अन्तर्राष्टिय संस्था अगाडि आएको बताउँदै भट्टले विश्व परिस्थितिको नयाँ संर्घषको आधारमा नयाँ शक्ति संरचना पनि देखिन थालेको उल्लेख गर्नुभयो ।

विमर्श कार्यक्रमको सञ्चालन गर्नुभएका प्राध्यापक चैतन्य मिश्रले नेपालको संविधानमा उल्लेखित समाजवाद कुन खाले समाजवाद हो भनेर उल्लेख गरेको भए उपयोगि हुने विचार राख्नुभएको थियो । समाजवादको सम्भाव्यता भन्नाले ‘के खाले समाजवाद सम्भव छ वा के खाले छैन भन्ने जान्न खोज्नु’ रहेको प्रष्ट पार्दै मिश्रले मार्क्स, एंगेल्स र लेनिलगायतले परिभाषित गरेको समाजभन्दा अहिलेको विश्व बेग्लै भएकाले अहिलेको अवस्थाको समाजवाद त्यो भन्दा पृथक हुने उल्लेख गर्नुभयो ।

नेपालका कम्युनिष्ट नेतामा वंशावली लेख्ने चलन चलेजस्तै कम्युनिष्ट पार्टीमा मार्क्स वा एंगेल्सवादी भन्दै वंश तान्ने गलत परम्परा विकास भएको र ठोस परिस्थितिको ठोस विश्लेषणको मान्यता हराएको मिश्रले टिप्पणी गर्नुभयो । नेपालका कम्युनिष्ट पार्टीका नीतिमा संगती नभएकोले नयाँ रुपमा सोच्नपर्ने बेला आएको पनि उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू