अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

आई जी खनाल: विदेशमा लुकेका अपराधीको कठालोसम्म पुगेको कठोर हात

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ८:४३ मा प्रकाशित

मानव बेचबिखन नियन्त्रण ब्युरोले २६० जनाको उद्धार गरिसकेको छ

काठमाडौँ, २२ कात्तिक । प्रहरीका लागि एउटा भनाई छ– पहिला ठोक त्यसपछि प्रश्न सोध ! यो विश्वव्यापी भनाई अपराधी विरुद्ध प्रहरीको मनोबल उच्च बनाउनका लागि प्रचलित गरिएको थियो । नेपाल प्रहरीमा कतिपय विषयलाई यसरी जोडेर हेर्दा आलोचना हुने गरेको छ । तर, अपराधी र अभियुक्तको सात्तोचाहिँ उडेकै छ ।

सङ्गठनको प्रभावकारी काम र अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीका महानिरिक्षक (आई जी) सर्वेन्द्र खनालको शिल्प र शैलीले अहिले तीव्रता पाएको छ । जसलाई आम मानिसले भन्न थालेका छन्– गुड पुलिसिङ । त्यसैले सानो भन्दा सानो अन्यायमा पनि न्याय पाइन्छ भन्दै मानिस प्रहरीकहाँ उजुरीसहित पुग्ने क्रम बढेको छ ।

अझ केही हाई प्रोफाइल मानिसलाई पक्राउ गरी धमाधम कारबाहीका लागि कानुनको कठघरामा उभ्याउने कामले प्रहरीको साख अझ माथि उठाउन सफल छन्, खनाल । यति मात्र होइन, नेपाल प्रहरीले हालसम्म प्रयत्न नगरेका कतिपय अपराध र त्यसका फरार अभियुक्तलाई वर्षौँपछि पनि कानुनको कठघरामा उभ्याउन विभिन्न मुलुकका प्रहरीसँगको समन्वयमा खनालको तीव्रता परिणामले नै देखाएको छ । त्यसैले ‘विदेशमा बसेका अपराधीको कठालोमाथि पुगेको कठोर हात’ भनी खनालबारे धेरथोर चर्चा हुने गरेको छ ।

त्यसको एउटा उदाहरण हो अमेरिकादेखि बलात्कार र हत्याका अभियुक्तलाई नेपाल झिकाउन सक्ने सक्षमता । झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीको बलात्कारपछि हत्या गरी अमेरिका फरार रहेका लीलाराज गौतमलाई पक्राउ गरी नेपाल डिपोर्ट गराउनका निम्ति प्रभावकारी समन्वय खनालको नेतृत्वमा नै भयो ।

२९ असोज, २०५७ राती गौतमसहित मनोज खड्का र सीताराम खड्काले राजवंशीको सामूहिक बलात्कार गरी घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुन्डाएका थिए । मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए । पुनरावेदनमा पनि सफाइ पाएका गौतमलगायतलाई १९ भदौ २०६६ मा सर्वोच्च अदालतले भने जन्मकैदको फैसला सुनाएको थियो । गौतम सोही समयमा फरार थिए ।

‘नेपालमा अपराध गर्ने र विभिन्न देशमा भाग्ने व्यक्ति धेरै छन् । इन्टरपोलमा समन्वय गरी घटनाका विषयमा बुझाएपछि अपराधी लुक्ने अवसर नदिने नीति नै हो’, आई जी खनालले दैनिक नेपालसँग भने,‘नेपालमा अपराध गर्ने अनि विदेशमा मोज मस्तीको जीवन बाँच्छु, नेपाल प्रहरीले छुनै सक्तैन भन्ने कुत्सित विचार नपालेकै ठिक हुन्छ । प्रहरीले खोजेर कानुनको दायरामा उभ्याउँछ ।’

अहिले पनि कतिपय मुलुकमा रहेका अपराधीको मिहिन अध्ययन र पक्राउका लागि पहल भइरहेको खनालले बताए । ‘नेपाली जनता जसले अहिलेसम्म न्याय पाएको छैन, पीडकका कारण बारम्बार पीडामा छन् तिनलाई न्याय दिलाउनका लागि कानुनी उपचारका पाटामा प्रहरी मूकदर्शक बन्दैन, बन्न दिन्न’, उनी भन्छन्,‘अभियुक्त, अपराधीले पनि हाइसन्चो नमाने हुन्छ ।’

हुन त खनालले सङ्गठन प्रमुख हुनु पूर्व नै प्रहरीका काम कस्तो हुनुपर्छ भन्ने विषयमा धेरै नै उदाहरण पस्किसकेका थिए । बैङ्किङ क्षेत्रका अपराध, म्याच फिसिङ, अवैध हुन्डी कारोबारी, विद्युत् चुहावटका गिरोह, गुन्डागर्दी, अपहरण फिरौती माग्ने जस्ता अपराधमाथि कठोर नै बनेका थिए । जसले उनलाई सङ्गठनको सबैभन्दा उपल्लो ठाउँमा बस्नका लागि स्वतः योग्य बनाएकै थियो, अहिले सङ्गठन प्रमुख भएपछि पनि नयाँ–नयाँ काम गरेर प्रभावकारिता देखाइरहेका छन् ।

प्रविधिको प्रयोगबाट अपराधका शृङ्खला बढ्न थालेपछि प्रहरीमा दुई ब्युरो अनिवार्य देखेका खनालले । सरकारसँग बारम्बार प्रस्ताव गरी साइबर क्राई ब्युरो र मानव बेचबिखन ब्युरोलाई चलायमान बनाए । अहिले दैनिकजस्तो साइबर अपराधमा कतिपय पक्राउ परिरहेका छन् । ‘यो ब्युरो अझै प्रभावकारी बनाउनका निम्ति के कस्ता आवश्यक चिज र उपकरण चाहिन्छ यसबारेमा पनि अध्ययन गरिरहेको छु’, उनी भन्छन्,‘अहिले साइबर अपराधको ग्राफलाई बढ्न नदिनु, नियन्त्रणमा ल्याउनु छ ।’

त्यसो त एटिएम ह्याकिङ, बैङ्क र वित्तीय संस्थाबाट रकम चोरी नियन्त्रणका कामको जस पनि खनाल र उनको टिमलाई स्वाभाविक रूपमा नै जान्छ ।

वैदेशिक रोजगारका नाममा भएको ठगी नियन्त्रण, त्यसमार्फत हुने अपराधलगायतमा पनि मानव बेचबिखन नियन्त्रण ब्युरो प्रभावकारी देखिन थालेको छ । खनाल ब्युरोको कामबाट प्रभावित छन् । गरेको प्रयासले सफलताको ग्राफ बढाएर मात्र होइन, पीडित नेपाली युवायुवतीलाई सकुशल नेपाल फर्काउनुलाई प्रहरीको प्रभावकारिताको क्षेत्रफल बढेको ठान्छन् उनी ।

त्यो तथ्याङ्कले पनि पुष्टि गरेको छ । दुई वर्षको दौरानमा २६० जना पीडितलाई विभिन्न मुलुकबाट उद्धार गरी नेपाल फर्काइएको छ । भारतबाट १८२ महिला, ३३ पुरुष, लिपियाबाट १७ पुरुष, ६ पुरुष इराकबाट नेपालमा प्रहरीले नै उद्धार गरी फर्कायो । यति मात्र होइन, कुवेतबाट एक महिला, ग्रिसबाट एक पुरुष, केन्याबाट १२ महिला, इन्डोनेसियाबाट मात्रै ४ पुरुष, २ महिला, मलावीबाट तीन महिलालाई उद्धार गरिएको थियो ।

‘मानव बेचबिखनका काम अनेक हिसाबबाट भइरहेका छन्, विविध तरिका अपनाइएका अपराधका जालो तोड्ने क्रममा प्रहरी सफल नै देखेको छु’, आई जी खनाल भन्छन्,‘जे उद्देश्यका लागि ब्युरो गठन गरिएको थियो उसको प्रभावकारिता त्यही विषयमा अझ बढाउनका निम्ति गहन कामका लागि निर्देशन पनि दिएको छु ।’ दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू