अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

छिमेकी राष्ट्र चीनले पनि नेपालको उत्तरी सिमानामा मिचेको तथ्य सार्वजनिक

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:३३ मा प्रकाशित

काठमाडौँ – लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको उत्तरी सिमानामा मिचेको तथ्य सार्वजनिक भएको छ। छिमेकी राष्ट्र चीनले नेपालको ३६ हेक्टर भूभाग जमिन मिचेकोको सरकारी तथ्यंकमा उल्लेख छ। चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको छ। सरकारको एक अध्ययन प्रतिवेदन अनुसार चीनले नेपालको सङ्खुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भूभाग मिचेको हो।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार उक्त नेपाली जमिन चीनले मिचेको हो। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ,’चीनले नेपाल-चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौँ हेक्टर जमिन गुमाउन सक्ने सम्भावना अत्यधिक छ।

नेपाल चीन सिमानामा नेपाल तिर नदिको बहावले ठुला ठुला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सिमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ।

कुन जिल्लामा कति मिच्यो?
चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, सङ्खुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ ।  चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र सङ्खुवासभाको अरुण नदीमा ४ हेक्टर जमिन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वशासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिँजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू