अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

मुलुकलाई सरकारको लोकप्रियताको सन्देश दिन उप–निर्वाचन जित्नैपर्छ– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:३० मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई सरकारको लोकप्रियताको सन्देश दिन पार्टीले आसन्न उप–निर्वाचन जित्नैपर्ने बताउनुभएको छ । नेकपा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचन जुनसुकै हालतमा पनि नेकपाले जित्नुपर्ने बताउनुभएको हो । कास्की क्षेत्र नं २ मा हुने उपनिवर्चानमा सिङगो राष्ट्रको ध्यान गएको उल्लेख गर्दै प्रचण्डले मतदानको नतिजा नआउने बेला सम्म सरकार र पार्टीका राम्रा कामहरुको खटेर प्रचारप्रसार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

देशकै लोकप्रीय नेता रविन्द्र अधिकारीलाई कास्कीले गुमाउनु परेको भन्दै प्रचण्डले कास्कीका जनताले शोकलार्र्ई शक्तिमा बदल्दै नेकपाका उम्मेद्वार विद्या भट्टराईलाई भारी मतान्तरले विजयी गराउने विश्वास ब्यक्त गर्नुभयो । एक फरक प्रसंगमा उहाँले पार्टीभित्र शीर्ष नेताहरू एक भएको दावी गर्दै आगामी कात्तिक २५ गतेभित्रै नेकपाको बाँकी एकता प्रक्रिया टुंगोमा पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पार्टी महासचिव विष्णु पौडेलले कास्की क्षेत्र नं २ मा नेकपाले रेकर्ड व्रेक हुने गरि चुनाव जित्नुपर्नेमा जोड दिनुभयो । नेकपा कास्की क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले कास्कीको पार्टी र जनताको चाहानाले आफु उम्मेदवार बनेको बताउनु भएको छ । स्व. रविन्द्र अधिकारीलाई ५ बर्षको लागि जनताले सुम्पेको बाँकी काम पुरा गर्न आफु तयार भएर चुनावी मैदानमा आएको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू