अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

राजश्व छली अभियोगमा चिनियाँ नागरिकसहित ४ जना विरुद्ध मुद्दा

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:२४ मा प्रकाशित

काठमाडौँ- तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्स्ट्रक्सन इन्जिनियर कम्पनीका सञ्चालक विरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका सञ्चालकहरू याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठ विरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् ।

राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको माग दाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनीहरू अहिले प्रहरी हिरासतमा छन् । उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरिद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए ।

उक्त कम्पनी विरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ रु एक करोड १४ लाख राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ ।

उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू