अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

झापाका शरणार्थी भुवन प्याकुरेल अमेरिकाको ओहायोका नगर-परिषद् सदस्यमा निर्वाचित

विजय थापा २०७६ कार्तिक २१ गते १७:५४ मा प्रकाशित

भुटानमा जन्म भई हाल अमेरिकाको ओहायोमा बस्दै आएका होनहार युवा भुवन प्याकुरेलले इतिहास रच्दै ओहायोको रेनोल्ड्सबर्ग सहरका लागि नगर-परिषद् सदस्यमा निर्वाचित भएका छन् । गत नोभेम्बर ५ ,२०१९ मङ्गलवारका दिन सम्पन्न निर्वाचनमा प्याकुरेल विजयी भएका हुन् ।

उनी उक्त सहर वडा ३ का लागि सिटी काउन्सिल ( नगर-परिषद् सदस्य )भएका हुन् । प्याकुरेल यसरी निर्वाचनमा उम्मेदवार बनी निर्वाचनमा विजयी हुने पहिलो भुटानी -अमेरिकन भएका छन् । उनी विजयी भए पछि उनलाई ,इष्टमित्र ,साथीभाइ तथा शुभचिन्तकहरूले बधाई दिनेको ओहिरो लागेको छ भने अधिकांशले इतिहास रचेको भन्दै उनलाई बधाई दिएका छन् ।

उनले रेनोल्ड्सबर्ग नगर परिषद्को निर्वाचनमा १ हजार ३ सय ५२ मत ल्याई विजय भएका हुन् । उनका प्रतिस्पर्धी रिपब्लिकनका उम्मेदवार मार्सल स्पल्डिंगले ९ सय ९० मत प्राप्त गरेका थिए । उनी ९ वर्षको उमेरमा आफ्ना परिवारसाथ भुटानबाट लखेटिएर नेपालको पूर्वीय क्षेत्र झापा आएका थिए । उनी १८ वर्ष सम्म नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका थिए ।

अमेरिका आए पछि उनी नागरिक बने पछि समाजसेवामा केही योगदान गर्ने इच्छा भएकोले नगर परिषद्को उम्मेदवारी दिए र विजयी भए । नगर परिषद् सदस्यमा विजयी हुने उनी प्रथम भुटानी-अमेरिकन हुने सौभाग्य प्राप्त गरेका छन् ।

प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए भने पछि उनी ओहायोमा परिवारसाथ बसाई सराई गरेका थिए । सन् २०१६ मा अमेरिकन नागरिकता लिएका हुन ।

उनलाई विजयी गराउन मेरिल्यान्ड डेमोक्रेटिक पार्टी एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी)बाल्टिमोर काउन्टीका सभापति डा श्याम कार्की लगायत डेमोक्रेटिक दलका अधिकारी तथा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) ककस प्रमुखले स्वयम् सेवक तथा चुनावी रणनीतिमा सहयोग गरेका थिए ।

डा कार्की प्याकुरेललाई सहयोग गर्न ओहायो पुगेका थिए भने डा कार्कीले आगामी सन् २०२० मा हुने निर्वाचनको लागी ४-५ जना नेपाली अमेरिकन तयार गर्ने हेतुले काम गर्न सुरु गरेका बताए । डा कार्कीले ह्यारी भण्डारीको निर्वाचनमा पनि ठुलो भूमिका निर्वाह गरेका थिए ।

स्मरण रहोस् ,अमेरिकाको मूलधारको राजनीतिमा मेरिल्यान्ड राज्यको इन्डियन हेड नगरपालिकाको उप प्रमुखमा विजयी भई पहिलो इतिहास रच्ने किरण सिटौला हुन् भने भुटानी समुदायको तर्फबाट भुवन प्याकुरेलले पहिलो खाता खोलेका छन् ।

यसै गरी अमेरिकाको इतिहासमा मेरिल्यान्ड विधान सभाका लागि विधान सभा सदस्य(सांसद )मा निर्वाचित हुँदै सबै भन्दा ठुलो फड्को हानी इतिहास रच्ने ह्यारी भण्डारी पहिलो नेपाली मूलका हुन् । यसै गरी भर्जिनियाको हे मार्केट (सहर) मा नगर परिषद् सदस्यमा निर्वाचित मधु पन्थी तथा भर्जिनिया कै हर्नडन सहरमा नगर परिसद सदस्यमा विजयी हुने प्रदीप ढकाल हुन् ।

हाल सम्म नेपाली मूलका नव निर्वाचित प्याकुरेललाई समेत जोड्दा अमेरिकामा सार्वजनिक पदमा निर्वाचनमा होमिएर विजयी हुने ५ जना भएका छन् । जस्मा ३ जना नगर परिसद सदस्य विजयी भएको देखिन्छ ।

प्रतिक्रिया