अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 09:49

कलङ्की डिजिटल मालपोत: कमी देखियो प्रविधिको प्रयोग

शान्ति लामा २०७६ कार्तिक २१ गते १८:३४ मा प्रकाशित

काठमाडौँ, कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गर्नुभएको थियो । कागजको न्यूनतम प्रयोग गरी सेवा दिनु नमुना मालपोतको अवधारणा हो । यस अवधारणाबाट कार्यालयको सेवामा केही सकारात्मक परिवर्तन देखिएका छन् भने अझै धेरै कमजोरी बाँकी छन् ।

एकद्वार सेवाले सजिलो
डिजिटलाइज्ड मालपोतको अवधारणा आएसँगै सेवाग्राहीले एउटै ठाउँबाट सम्पूर्ण सेवा लिन सक्ने भएका छन् । कलङ्की मालपोत कार्यालयको भौतिक संरचनाको डिजाइन पृथक् देख्न सकिन्छ । भौगोलिक क्षेत्रअनुसार फाँटहरूको व्यवस्था गरिएको छ ।

“त्यसैभित्र सम्पूर्ण प्रणाली व्यवस्थित गरिएको छ । एक ठाउँबाट प्रवेश भएको फाइलको सम्पूर्ण काम त्यही ठाउँमा पूरा हुन्छ,” अधिकृत कमल कार्कीले भन्नुभयो । नमुना मालपोतको अवधारणा आएपछि ल्याइएको एक द्वार सेवालाई सेवाग्राहीले पनि मन पराएका छन् । “पहिलेजस्तो सानो रुजुका लागि अर्काेअर्काे कोठा र कर्मचारी खोज्दै हिँड्नुपर्दैन,” एक आफन्तको जग्गाको काम लिएर मालपोत कार्यालय आउनुभएका कमल सुवेदीले भन्नुभयो ।

एउटै फाँटबाट सम्पूर्ण सेवा पाउने भएपछि तुलनात्मक रूपमा कम समयमा काम हुने गरेको सेवाग्राहीको प्रतिक्रिया थियो । सचेत सेवाग्राहीले भने एक्लै आएर सेवा लिन पनि कुनै समस्या नहुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका कर्मचारी टोलप्रसाद लामिछानेको अनुभव छ ।

सेवाग्राही आफैँ सचेत हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी नागरिक बडापत्र पढेर सेवाबारे जानकारी लिएर आउँछौँ । त्योअनुसार नभए सम्बन्धित निकायमा गुनासो गरिहाल्छौँ । त्यसो भएमा बिचौलियाबाट काम लिनुपर्ने वा ढिलासुस्ती हुने सम्भावना कम हुन्छ ।”

छैन टोकन प्रणाली
सेवाग्राहीको पङ्क्ति प्रणाली व्यवस्थापनका लागि टोकन मेसिन र डिस्प्ले बोर्डहरू छन् तर ती कुनै पनि फाँटका बोर्डहरू सुचारु देखिएनन् । टोकनको व्यवस्था नहुँदा सेवाग्राहीको भीड फाँट अगाडि झुम्मिएका देखिन्थे । एउटाको काम गर्दै गरेका कर्मचारीतर्फ अर्कोले कागज घुसाइरहेका
दृश्य नौलो थिएन । अर्कोतिर हरेक फाँटअघि सेवाग्राहीलाई बस्नका लागि आरामदायी कुर्सीको व्यवस्था गरिएका छन् । आफ्नो पालो नआएसम्म ती कुर्सीमा बस्ने धैर्य सेवाग्राहीले पनि गरेको देखिएन । टोकन प्रणाली नभएका कारण पालो आएको थाहा नहुने भएकाले कर्मचारीका अघिल्तिर झुम्मिएको उनीहरूको भनाइ थियो ।

मालपोत अधिकृत कार्कीले भने छिट्टै टोकन प्रणाली सुचारु हुने बताउनुभयो । दसैँ–तिहारको बिचमा ती मेसिनमा समस्या आएको उहाँको भनाइ छ । “टोकन नभए पनि कर्मचारीले बोलाएको सुन्न सकिन्छ तर सेवाग्राहीहरू कुर्सी खाली बनाएर काउन्टर अगाडि नै झुम्मिन्छन्,” उहाँले भन्नुभयो ।

ढड्डाको चाङ
मालपोत कार्यालय पुग्दा प्रविधि प्रयोगको आभास पाउन मुस्किल हुन्छ । प्रविधि प्रयोगमा पूर्ण प्रभावकारिता अझै भएको देखिँदैन । यहाँ न सेवाग्राही डिजिटल प्रविधिमा अभ्यस्त छन् न त सेवा प्रदायक नै प्रविधिमा विश्वस्त हुन सकेका छन् । कर्मचारीका अगाडि कागजातका ढड्डाका चाङ देख्दा डिजिटल मालपोतमा आएजस्तो कतै पनि लाग्दैन । सेवाग्राही पनि कागजात लिएर यताउता गरिरहेको दृश्यहरू सामान्यजस्तै छन् ।

प्रविधिका लागि नमुना कार्यालयमा जाँदा सम्पूर्ण काम कम्प्युटरमा भएको हेर्ने सेवाग्राहीको अपेक्षा हुन्छ तर यहाँ कम्प्युटरले कागजको प्रयोगलाई कम गरेजस्तो देखिँदैन । हरेक फाँटका कर्मचारी कम्प्युटर पनि चलाउँछन् र सहयोगी कागजातहरू भने कागजमै मगाइन्छ । पुराना कागजातहरू डिजिटलाइज्ड नहुनु ढड्डा प्रयोगको मुख्य कारण रहेको अधिकृत कार्की बताउनुहुन्छ । त्यस्तै सर्भरमा भएका तथ्याङ्कहरू सधैँ बसिराख्छन् भन्नेमा मालपोत कार्यालय विश्वस्त हुन सकेको छैन । “जग्गा सम्पत्तिजस्तो विषयका तथ्याङ्कहरू धेरै पछि सम्मलाई चाहिन्छ, कुनै बेला उडी पो हाल्छ कि भन्ने डर पनि छ,” अधिकृत कार्की भन्नुहुन्छ ।

अझै दुई वटा हाजिरी
कार्यालयको ढोकाबाट भित्र प्रवेश गर्ने बित्तिकै पहिलो तलामा कर्मचारीको डिजिटल हाजिरी मेसिन राखिएका छन् । भित्तामा झुन्ड्याइएका दुई हाजिरी मेसिन चालू देखिन्छन् । ठिक त्यसकै छेउमा एक कोठाको टेबलमा २०७६ को हाजिरीको ढड्डा पनि देख्न पाइन्छ । यसबाट प्रविधिप्रति अझै सार्वजनिक संयन्त्रहरू विश्वस्त हुन नसकेको उदाहरण हो ।

बिचौलियाको बिगबिगी
मालपोतको ढोकामा पस्ने बेलादेखि नै बिचौलियासँग ठोक्किन पुगिन्छ । लेखापढी व्यवसायी, ‘काम मिलाउने’हरूदेखि जग्गा दलालसँग समेत पाइला–पाइलामा जम्काभेट भइरहन्छ । कलङ्की मालपोतमा सेवा लिन आएका एक सेवाग्राही कमल सुवेदीले भन्नुभयो, “सेवाग्राहीभन्दा यहाँ बिचौलिया धेरै हुँदा रहेछन् ।”

बिहीबार गोरखापत्र समाचारदाता पुग्दा कार्यालय खुल्नुभन्दा पहिले नै जग्गा मिलाइलिने बिचौलियासँग भेट भयो । भनेजस्तो ठाउँमा जग्गा मिलाइदिनेदेखि छिटो काम गराइदिन्छु भन्नेसम्मका मानिससँग घरीघरी भेट भइरह्यो । बिचौलियाबिना काम गर्नै मुस्किल रहेको कतिपय बताउँदै थिए । जान्ने सुन्ने सेवाग्राहीको समेत शुल्क तिरेर लेखापढी व्यवसायीको सहयोगबिना काम गर्न नसकिने गुनासो प्रशस्तै सुनियो । अनुमति प्राप्त लेखापढी व्यवसायीको शुल्कमा पनि एकरूपता देखिँदैन । एक हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्म शुल्क तिरेको सेवाग्राहीहरूले बताए ।

अप्ठेरो स्तनपान कक्ष
शिशुसहित आउने सेवाग्राही र कर्मचारीका लागि मालपोतको भवनमै एक स्तनपान कक्ष स्थापना गरिएको छ । यस कार्यालयमा स्तनपान गराउने कर्मचारी नभए पनि सेवाग्राहीले भने सेवा लिने गरेका छन् । एक कार्यालय सहयोगीका अनुसार दैनिक दुई–तीन जना सेवाग्राहीले स्तनपान कक्षमा आएर शिशुलाई स्तनपान गराउने गरेका छन् तर कति सेवाग्राहीले त्यहाँ स्तनपान कक्ष छ भन्ने नै थाहा पाउँदैनन् किनकि कक्ष पाँच तले भवनको तेस्रो तलामा राखिएको छ ।

अधिकृत कार्कीका अनुसार तल्लो तलामा ठाउँ अभावका कारण माथिल्लो तलामा स्तनपान कक्ष राख्नुपरेको बताउनुभयो । तल्लो तलामा ठाउँ बनाएर सार्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । नमुना मालपोत कार्यालयले आफ्नो भौतिक संरचनालाई अपाङ्ग मैत्री बनाउने प्रयास गरेको देखिन्छ । अपाङ्ग मैत्री शौचालयहरू बनाइएका छन् तर कार्यालयको तल्लो तलाभन्दा माथिको तलाहरूमा भने अपाङ्गता भएका व्यक्तिको पहुँच सहज छैन । माथिल्ला तलाका शौचालयहरू पनि अपाङ्ग मैत्री छैनन् । माथिल्लो तला जान ह्विलचेयर ¥याम्प बनाइएको छैन भने भएका एलिभेटहरू पनि बन्द देखिन्छन् ।

सर्भर र इन्टरनेटका कारण ढिलाइ
कतिपय सेवाग्राही सानो काम गर्न पनि ढिलाइ भएको गुनासो गरिरहेका थिए । फर्पिङका विष्णु थापा जग्गा रोक्का भए÷नभएको हेर्न मालपोत कार्यालय आउनुभएको थियो । दुई दिन लगाएर आफ्नो काम पूरा गर्नुभएका उहाँले भन्नुभयो, “बुधवार बिहान १० बजे निवेदन दर्ता गरेर बेलुका कर्मचारी कार्यालय बन्द नभएसम्म बस्दा पनि मेरो काम गर्दिनुभएन । टेबलमा कागजको थुप्रो देखाएर पन्छिनुभयो । सानो कामका लागि दुई दिन खेर फाल्नुपर्‍यो ।”

गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू