अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

रङ्गशाला तयार नहुँदा घरेलु मैदानको खेल पनि विदेशमै खेलाइने

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते १८:२३ मा प्रकाशित

काठमाडौँ, दशरथ रङ्गशालाका लागि निर्धारित विश्वकप फुटबल छनोट प्रतियोगिताको नेपालको घरेलु मैदानको लागि निर्धारित खेल भुटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले मङ्सिर ३ गते कुवेत विरुद्ध हुने खेल दशरथ रङ्गशालामा खेलाउने प्रस्ताव गरेको थियो । तर निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको समयमै निर्माण पुरा हुन नसकेपछि उक्त खेल नेपालमै नहुने निश्चित भएको हो ।

एन्फाको प्रस्तावमा एसियाली फुटबल महासङ्घ र अन्तर्राष्ट्रिय फुटबल महासङ्घले रङ्गशाला तयारी अवस्थामा नरहेको प्रस्ट्याएपछि एन्फाले उक्त खेल नेपालमा हुन नसक्ने जनाएको छ । एन्फाको प्रस्तावमा ए एफ सिको प्रतियोगिता समितिको प्रतिनिधि देङग सिओ लोङगले मङ्गलवार दशरथ रङ्गशालाको निरीक्षण गर्नुभएको थियो । उहाँले प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रङ्गशाला तयार हुन नसकेको रिपोर्ट बुझाउनुभएको थियो ।

एन्फाले कुवेत विरुद्धको होम खेल भुटानको चाङगलिमिथाङग रङ्गशालामा सञ्चालन गर्न फिफा र ए एफ सीसँग प्रस्ताव गरिएको जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले अधिकतम प्रयासका बाबजुद नेपालमा उक्त खेल हुन नसक्ने बताउनुभएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पमा क्षति ग्रस्त बनेको दशरथ रङ्गशालाको पुनर्निर्माणको कार्य विगत तीन वर्षदेखि हुँदै आएको छ ।

गोरखापत्र अनलाइन

प्रतिक्रिया