अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

कालापानीबाट भारतीय सेना हटाऊ

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते १८:१० मा प्रकाशित

काठमाडौं, नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ।

भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ। कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक जारी नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ।

काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो। सन् १८५६ अघिका नक्सा, सन्धिसम्झौता र दस्ताबेजदेखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीको उद्गम लिम्पियाधुरा स्पष्ट छ।

सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो। जुन नदीको वास्तविक उद्गम दार्चुलाको ब्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा हो। सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकाराद्वारा प्रकाशित सबै नक्सामा कालीको मुहान लिम्पियाधुरा नै देखाइएको छ।

सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो। कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटिङ्याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो।

सीमा अध्येताहरूले भारतले काली नदीको यथार्थ स्वीकारेका कारण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भूभाग फिर्ता ल्याउनुपर्ने बताएका छन्।

नदीविद् जगतप्रसाद भुसालले कुनै बेला एक व्यक्ति वा समूहको मानवीय गल्तीले गुमेको हुन सक्ने भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको बताए। ‘यी ठाउँबाट भारतीय सेना हटाउनुपर्छ,’ उनले भने।

काली नदी उद्गमस्थलको अध्ययन गरेका भुसालले नदी विज्ञानअनुसार काली नदीको शिर लिम्पियाधुरा भएको स्पष्ट पारे। ‘लिपु खोलालाई काली नदी भनेर स्वीकार गर्नु हाम्रो ठूलो गल्ती थियो,’ उनले भने, ‘यो गल्ती नापीकै कर्मचारी गरेका हुन्। यसलाई ध्यान दिएर सरकारले तथ्यका आधारमा समाधान गर्नुपर्छ।’

लिपु खोलालाई काली नदी भनेर स्वीकार गरेपछि भारतले कमजोरीको फाइदा उठाएको र सेनासमेत त्यहाँ राखेको हो। भारतले साविकको काली नदीलाई कुटिङ्याङ्दी भनेर त्योभन्दा ३० किलोमिटर पूर्व कृत्रिम पोखरी, मन्दिर र खोल्सा बनाएर काली नदी भन्न र लेख्न थाल्यो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू