अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन तयारी पूरा

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३८ मा प्रकाशित

काठमाण्डौंमा आयोजना हुन लागेको तीन दिने ‘आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ तयारी पुरा भएको छ । आज राष्ट्रिय मानव अधिकार आयोगले पत्रकार सम्मेलन गर्दै कात्तिक २६ देखि २८ गतेसम्म आयोजना हुने सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

सम्मेलनमा नेपालबाट विदेशमा काम गर्न गएका कामदार र अन्य देशका आप्रवासी कामदारको मानवअधिकारको विषयमा छलफल हुने आयोगका सदस्य सुदीप पाठकले जानकारी दिनुभयो । कामदार पठाउने र लिने ३० देशका सरकारी अधिकारी, ती देशका मानवअधिकार आयोगका प्रतिनिधि र गैर सरकारी संस्थाका प्रतिनिधिको सहभागीता हुने उहाँले बताउनुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तीन दिने सम्मेलनमा सहभागिता जनाउनका लागि मानवअधिकारका लागि विश्वव्यापी संजालका प्रमुख डा. कार्लो अल्फोनसो नेग्रेट मोस्क्युरा पनि सहभागी हुने जनाइएको छ । सम्मेलनमा केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिका, कतारलगायतका मुलुकका मानवअधिकार आयोगका प्रमुख सहभागी हुनेछन् । बंगलादेश, भारत, थाइल्यान्डलगायतका मुलुकका मानवअधिकार आयोगका आयुक्त पनि सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू